खेलकुद मन्त्रीले गफ हैन ब्रिफिङ गर्ने
नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् ।
आज अपराह्न सिंहदरवार पुगेर पदभार ग्रहण गर्दै उनले बोल्नेभन्दा केही गरेर देखाउने संकल्पका साथ मन्त्री बनेको जिकिर गरेका हुन् । विगतका मन्त्रीहरुले काम नगर्ने तर अनावश्यक बोलेर बसेकाले देश बिग्रिएको उनको दाबी छ ।
त्यसक्रममा उनले अब मन्त्रालयको टिमसँग छलफल गरेर अघि बढने योजना पनि सुनाए । गुप्ताले गर्न सकिने कुरा मात्र प्राथमिकतामा राखेर काम अघि बढाउने पनि स्पष्ट पारे ।
‘बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउन पर्छ । बोलेर नै यो सबै कुरा बिग्रेको हो । मैले आफू अनुकूल टिमसँग सल्लाह गरेर नेपालमा के कुरा फ्लेजिबल छ त । हामीले आफूसँग भएको रिसोर्सेस पनि हेर्नुपर्ने होला । हुँदै नहुने कुरा भनेर भएन । त्यो गरियो भने फेरी पनि आशा मर्छ नि त’, उनले भने, ‘प्रश्न के उठिराखेको छ भने जो गयो बोल्ने त हो नि । कराउने त हो । यसरी बोलीराख्दा हामीलाई पनि चित्त दुख्छ । त्यसो हुनाले हामी जतिसक्दो काम गर्छाैं । अनि कामको कुरा ब्रिफिङ गर्छौं, आज चाहीँ गफगफको ब्रिफिङ हुन्छ ।’
मन्त्रालयले गरेका कामको परिणाम निस्किएपछि दैनिक ब्रिफिङ गर्दै जाने बताउँदै मन्त्री गुप्ताले त्यसका लागि केही समय लाग्ने पनि बताए ।
‘पहिला हामी कामै गरौं काम गरेपछि त्यो निर्णयहरु हामी तपाईहरुको अगाडि प्रस्तुत गर्ने नै छौँ’, उनले भने, ‘त्यसका लागि कृपया तपाईंहरुले हामीलाई पनि समय दिनुहोला । किनभने हामीसँग सर्ट टाईम छ । रिसोर्सेस पनि थोरै नै छ । काम गर्नुपर्ने धेरै छ । डेलिभरी गर्नुपर्ने धेरै छ । त्यसो भएकाले हामी कामैतर्फ लाग्छौ । हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रश्तुत गर्नेछौं ।’
टिप्पणीहरू