जेनजीका मागप्रति मुख्यसचिवको चासो

जेनजीका मागप्रति मुख्यसचिवको चासो

मुख्यसचिव एकनारायण अर्यालले जेनजीहरूले उठाएको माग सम्बोधनका लागि चासो देखाएका छन् । 

सचिवस्तरीय बैठक डाक्दै उनले जेनजी प्रदर्शनका क्रममा उठाइएका सुशासनसम्बन्धी माग सम्बोधन गर्न सबै मन्त्रालय र निकायहरूलाई ‘तत्काल सुधार कार्ययोजना’ पठाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको मंगलवारको उक्त बैठकको निर्णयमा २०८२ भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उठान भएका मागहरू सम्बोधन गर्नका लागि आवश्यक सुधारका कार्यहरू समावेश गरी कार्ययोजनाको खाका आगामी कार्तिक १६ गते आइतबारसम्म शासकीय सुधार महाशाखामा पठाउन भनिएको छ ।

त्यस्तै, आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पतीमा पुगेको क्षतिको विवरण राष्ट्रिय योजना आयोगले तोकेको पोर्टलमा शीघ्र प्रविष्ट गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ । आयोगले क्षतिको समग्र विवरण प्राप्त हुनेगरी आवश्यक टेम्प्लेट परिमार्जन र सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्ने बताइएको छ । 

आन्दोलनका कारण अवरुद्ध सार्वजनिक सेवाहरू सुचारु गर्न विशेष खरिद प्रक्रिया अघि बढाउने र सेवा सञ्चालनमा असहजता भएका क्षेत्रमा शहरी विकास मन्त्रालयले सम्भव भएसम्म सरकारी भवन उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय पनि गरिएको ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सार्वजनिक निकायहरूले यथासम्भव स्वदेशी वस्तुको प्रयोग गर्ने-गराउने भनिएको छ । सुरक्षा निकायहरूलाई चुस्त, दुरुस्त र उच्च मनोबलयुक्त बनाउन आवश्यक न्यूनतम सामग्री तथा बन्दोबस्तीका वस्तुहरूको व्यवस्थाका लागि अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्ने बैठाको निर्णय छ ।

टिप्पणीहरू