स्कुलमा परिवार नियोजनको अस्थायी साधनको थुप्रो

स्कुलमा परिवार नियोजनको अस्थायी साधनको थुप्रो

विद्यालयलाई ज्ञान आर्जन गर्ने पवित्र मन्दिर मानिन्छ । यस्तो स्थानमा अश्लील गतिविधि हुने कुरा कल्पना गर्न पनि कठिन हुन्छ। तर, बझाङको एक सामुदायिक विद्यालयमा प्रयोग गरिएका परिवार नियोजनको अस्थायी साधन (कण्डम) को थुप्रो भेटिएपछि अभिभावक र स्थानीय आक्रोशित भएका छन्।

मष्टा गाउँपालिका–६ स्थित रिलुचौर माध्यमिक विद्यालयको कक्षाकोठामा दुई दर्जनभन्दा बढी प्रयोग गरिएका कण्डम भेटिएपछि विद्यालयका शिक्षक र व्यवस्थापन समितिमाथि प्रश्न उठेको छ।

दशैँ–तिहारको अवसरमा विद्यालय एक महिनाका लागि बन्द भएको थियो। सो अवधिमै स्थानीयले विद्यालयका कक्षाकोठामा कण्डम भेटाएका हुन्। घटनामा विद्यालय प्रशासन र शिक्षकको लापरबाही भएको आरोप लगाइएको छ।

विद्यालयमा सिसिटिभी क्यामेरा नभएकाले अनुसन्धान गर्न कठिनाइ भइरहेको वडाध्यक्ष शिवराज बोहराले जनआस्थासँग बताए। ‘चाडपर्वका समयमा विद्यालय बन्द थियो। त्यहीबेला अराजक युवायुवती झ्यालबाट कक्षामा प्रवेश गरेको देखिन्छ,’ उनले भने, ‘आइतबार शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक बोलाइएको छ। दोषी जो भए पनि कारबाही हुन्छ।’

उनका अनुसार केही अराजक युवाको अश्लील हर्कतले विद्यालयको प्रतिष्ठामाथि ठूलो आँच आएको छ। ‘विद्यालयमा कण्डम भेटिनु आफैंमा लाजमर्दो कुरा हो,’ वडाध्यक्ष बोहराले भने, ‘हामीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेका छौं। विद्यालयको नाममा दाग लगाउने जो कोहीलाई कानुनी कारबाही हुनेछ।’

कक्षाकोठामा प्रयोग गरिएका कण्डम भेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय स्तरमा विद्यालय प्रशासनप्रति तीव्र आलोचना भइरहेको छ। धेरैले ‘विद्यालय हो कि वेश्यालय?’ भन्दै आक्रोश व्यक्त गरेका छन्।

टिप्पणीहरू