बिपी राजमार्गमा रात परेपछि यातायात बन्द
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले रातको समयमा सवारी साधन चलाउन रोक लगाएको छ । लगातार भइरहेको वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै प्रशासनले रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो । स्थानीय प्रशासनले साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म कुनैपनि सवारी साधन सिन्धुलीबाट काठमाडौं आउन नपाउने जनाएको छ ।
‘वर्षात् र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरुलाई सम्भावित जोखिमबाट हुनसक्ने मानवीय र भौतिक क्षति नदिनको लागि मिति २०८२–०७–१३ र १४ गतेका (साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मको समयमा) लागि बिपी राजमार्गको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाडौंतर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको छ’,सूचनामा उल्लेख छ ।
त्यसैगरी, प्रशासनले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गबाट यात्रा नगर्न आग्रह गरेको छ । त्यहाँ निरन्तर वर्षा भइरहेको उल्लेख गर्दै प्रशासनले दिँउसोको समयमा सवारी चलाउँदा पनि सतर्क हुन भनेको छ । यता, जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले पनि राति सवारी साधन चलाउन रोकेको छ । प्रशासनले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गबाट यात्रा नगर्न आग्रह गरेको छ ।
अहिले ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म बिपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेबेशी–सिन्धुली सडकखण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सवारी साधन आवागमनमा निषेध गरिएको छ । प्रशासनले लामो दूरीको यात्रा नगर्न, सुरक्षित स्थानबारे जानकारी लिन, पूर्वतयारी अवस्थामा बस्न सूचित गराएको छ ।
टिप्पणीहरू