ठेकेदारको धरौटी,खुशी पार्दै प्रदीप अधिकारी
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिन आएको बेरुजु रकम ठेकेदार कम्पनीको धरौटीबाट कट्टा गरेर फर्छ्यौट गर्न लागेको छ। प्राधिकरणको असोज २० गते बसेको बैठकले निर्माण व्यवसायीको धरौटी रकमबाट कट्टा गरी बेरुजु फछ्र्यौट गर्ने निर्णय गरेको हो ।
निर्णय कार्यान्वयनका लागि प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको पत्रमा त्यसरी कट्टा गरेपछि बाँकी रकम ठेकेदार कम्पनीलाई उपलब्ध गराइने उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘करिब नेपाली रुपैयाँ ३ अर्ब ४ करोड ९९ लाख ४५ हजार १३१ रुपैयाँ ७८ पैसाबाट उल्लेखित बेरुजु रकम कट्टा गर्न तथा सोही प्रकृतिका भन्सार शुल्क, महसुल र मूल्य अभिवृद्धि कर (अन्तःशुल्क बाहेक) छुट दिइएको भए सो रकमसमेत यसै प्रक्रियाअनुसार कट्टा गरी बाँकी रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न निर्णय भएको व्यहोरा अनुरोध गर्दछु।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चिनियाँ ठेकेदार कम्पनी एमएस चाइना सिएमसी इञ्जिनियरिङ कम्पनी लिमिटेडले गरेको हो। महालेखापरीक्षकको कार्यालयको ६०औँ वार्षिक प्रतिवेदन, २०७९ मा उक्त कम्पनीलाई दिइएको कर छुटवापतको २ अर्ब २२ करोड ४० लाख बेरुजु ठहर गरिएको थियो।
नेपालको कानुनअनुसार कर, शुल्क र महसुल भुक्तानी गर्ने दायित्व निर्माण व्यवसायीकै हुने व्यवस्था छ। तर प्राधिकरणले सो दायित्वविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएको भन्दै महालेखापरीक्षकले रकम असुल गर्न निर्देशन दिएको हो ।
त्यसपश्चात् प्राधिकरणले आवश्यक निर्णयका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको थियो। अर्थ मन्त्रालयले गत असार १८ गते प्राधिकरणलाई यथाशीघ्र बेरुजु फछ्र्यौट गर्न निर्देशन दिएपछि प्राधिकरणले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ को दफा ३९ बमोजिम धरौटी रकमबाट कट्टा गरी बेरुजु फछ्र्यौटको प्रक्रिया अघि बढाएको हो।
टिप्पणीहरू