छ भाइ चीन जाँदा यता चर्काे आलोचना

छ भाइ चीन जाँदा यता चर्काे आलोचना

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसहित छ जना डाक्टर र कर्मचारीको टोली यतिबेला चीन भ्रमणमा छ । 

अध्यक्ष डा. विजयराज न्यौपाने, कार्यकारी निर्देशक डा. शिवजी पौडेल, कानुनी सल्लाहकार गोकर्ण सापकोटा, सूचना अधिकारीसमेत रहेका प्रशासकीय अधिकृत गृहीनारायण महतो एवम् डाक्टरद्वय अनिलविक्रम कार्की र विश्वराम पौडेल एउटा कार्यक्रमको सिलसिलामा दुई हप्ताका लागि चीन गएको बुझिन्छ ।

रेडियो इमेजिङसम्बन्धी कार्यक्रममा अस्पतालको टोली गत असोजमा चीन गएर फर्किसकेको थियो भने आगामी मंसिरमा बोनम्यारो ट्रान्सप्लान्टसम्बन्धी कार्यक्रममा अर्काे समूह पनि जाने तय भइसकेको कर्मचारीहरुले बताएका छन् ।
 
नोभेम्बर ३ मा गोकर्ण सापकोटाको फेसबुक वालमा यी छ भाइ नानिङ शहरमा स्ट्रिट फुड र स्थानीय खानाको स्वादमा रमाइरहेको तस्बिर पोष्ट भएको छ ।

‘आज चीनको नानिङमा रहेको अन्तर्राष्ट्रिय वाणिज्य युनिभर्सिटीमा आठ देशका प्रतिनिधिसहितको उद्घाटन कार्यक्रममा सहभागीको तर्फबाट मन्तव्य राख्दै अध्यक्ष श्री डा. विजयराज न्यौपाने सर’ अस्ति कार्यक्रमका केही झलक समेत सापकोटाले आफ्नो फेसबुकमा हालेका छन् । 

‘Guangxy nourishment for solar cycle’ सेमिनारमा भाग लिन गत आइतबार चीन गएका उनीहरु यसै महिनाको अन्तिममा फर्किने अस्पतालबाट बुझिएको छ । 

आतेजाते खर्च आयोजककै हो । उक्त कार्यक्रम स्वास्थ्यसँग जोडिएको पोषण र चिनियाँ मेडिसिनसँग सम्बन्धित रहेको नेपाली अर्थ गुगल सर्चबाट देखिन्छ । तैपनि अस्पतालका असन्तुष्ट कर्मचारीहरु ‘यो कार्यक्रम उपचारसँग सम्बन्धित नभएको’ भन्दै यस भ्रमणलाई ‘बेतुक’को प्रतिक्रिया जनाउँदैछन् । एक कर्मचारीले भने, ‘डाइरेक्टर र अध्यक्ष दुबैजना विदेश भ्रमणमा हुँदा अस्पतालको महत्वपूर्ण कामकारबाही प्रभावित भएको छ ।’ 

नेपाल चिकित्सक संघका अध्यक्षसमेत रहेका डा. अनिलविक्रम कार्की नाक, कान, घाँटीको क्यान्सर विशेषज्ञ र डा. विश्वराम पौडेल हेड ब्रेस्ट सर्जन हुन् । उनीहरु उता जाँदा यता बिरामीको दैनिक उपचारसेवामा समेत बाधा पुगेको भन्दै अस्पताल प्रशासनभित्रकै कर्मचारीहरुबाट तीव्र आलोचना गरिएको हो ।  

जे भएपनि सरकारी कर्मचारीले जीवनमा एकचोटि विदेश भ्रमणको सौभाग्य पाउँदा खासै विरोध गरिनुपर्ने नभएपनि अहिलेको टोलीमा पहिलोपटक विदेशभ्रमण जानेहरुमात्र नभई अध्यक्ष, डाइरेक्टर लगायत डा. अनिल कार्की यसअघि पनि पटकपटक विदेश उडिरहने गरेको भन्दै असन्तोष जनाइएको छ । 

टिप्पणीहरू