३ वर्षीय बालकको उपचारमा सहयोगको अपिल

३ वर्षीय बालकको उपचारमा सहयोगको अपिल

दुर्लभ किसिमको गौचर रोगबाट पीडित तीन वर्षीय बालक फैजान खानको उपचारका निम्ति परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । पाल्पाको रामपुर नगरपालिका–४ निवासी असरफ मियाँ र आसिया खातुनको छोरा फैजानको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको याचना गरिएको हो ।

हाल उनको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचार भइरहेको छ । चिकित्सकहरुले उनको बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताएको परिवारको जिकिर छ । परिवारका अनुसार बोन म्यारो ट्रान्सप्लान्टका लागि फैजानकी ११ वर्षीया दिदीको रगत उपयुक्त देखिएको छ । 

फैजानका बुवाले कतारमा मजदुरी गरेर परिवार पाल्दै आएका छन् । पाँचपटक भारतमा परीक्षण गराएपछि डाक्टरहरुको सल्लाहअनुसार प्रत्यारोपणको तयारी भइरहेकोमा खर्च जुटाउन सकस परेको आमा आसियाले बताइन् । 

‘दिदीको रगत मिल्छ भनेपछि हामीमा केही आशा पलाएको छ । तर, ट्रान्सप्लान्टको शुल्क एकदमै मँहगो रहेछ । खर्च जुटाउन नसक्दा ट्रान्सप्लान्ट रोकिएको छ’,उनले भनिन् । उनले मनकारीहरुसँग छोराको उपचारका लागि सहयोगको याचना गरेकी छिन् ।

ग्लोबल आईएमई बैंकमा असरफको नाममा रहेको ०३३०७०१०११६०१५ खाता नम्बरमार्फत सहयोग गर्न सकिने बताइएको छ।

टिप्पणीहरू