भरतपुरमा एकातिर चकाचक, अर्कातिर दूरावस्था

भरतपुरमा एकातिर चकाचक, अर्कातिर दूरावस्था

छ किलोमिटर लामो ‘सिक्सलेन’ सडकको काम उहिल्यै क्लियर भइसक्दा त्योभन्दा वर्षाैंअघि थालिएको चारलेन सडक अझै अलपत्र किन ? महानगर कार्यालय अगाडिको महेन्द्र राजमार्गस्थित पुलचोक–गोन्द्राङ सडक विस्तार कार्य सडक विभागकै ठेक्का भएपनि महानगर प्रमुखले समेत विशेष स्वामित्व लिइदिँदा एउटै ठेकेदारबाट चार वर्षभित्रमा निर्माण सम्पन्न हुने तर सडक डिभिजन कार्यालय अघिल्तिरकै बाटो र सडक डिभिजनकै ठेक्काको अर्काे मुख्य सडकको दुरवस्था रहिरहने ? केवल चार किमि लामो दुईलेन सडकलाई चारलेनको बनाउन ठेकेदारसमेत दुईवटा लगाइयो, त्यैपनि १० वर्षदेखि एउटै खण्ड नभ्याएर अझै लथालिंग भरतपुरस्थित बाइपास रोडको कथा हो यो । 

यहाँ सुरु ठेक्का २०७२-०७३ मै लागेको बुझिन्छ । त्यतिबेला करिब पाँच मिटर चौडाइको सडकलाई पूरै चार किमिसम्मै सात मिटर फराकिलो बनाउन गौरीपार्वती निर्माण सेवा काठमाडौंले नै एकलौटी ठेक्का पाएको थियो तर कार्यमा अत्यन्त ढिलासुस्ती भएपछि छिटो सक्न भन्दै दुईवटा प्याकेजमा ठेक्का लगाउनुपरेको बताइन्छ । पछि रायमाझी पशुपति जेभीले आफूले ठेक्का पाएको विशालचोक–आँपटारी खण्डमा पीचसाथै नालीमा टम्म स्याल्ब र फुटपाथमा टायल समेत बिछ्याएर राम्रै निर्माण सम्पन्न गरेको देखिन्छ । रायमाझी-पशुपतिले २.४ किलोमिटर सडक बनाउन पछि २९ करोडमा ठेक्का पाउँदा अघिल्लो चानचुन १३ करोडको ठेक्कामै भेरियसन गरेर गौरीपार्वतीलाई दिइएको करिब २.२ किमि खण्डचाहिँ किन अधुरो र अलपत्र छोडियो होला त ? दुवैखण्डमा सडक बनेर डिभाइडर समेत बारी पीचमा सरर गाडीहरु गुडिरहेपनि सडकसँगैकै नाला उदांगो छोडिँदा दुर्घटना जोखिम बढेको छ । ढकनी नहुँदा कति मान्छे लडेर नालीमा खसिरहेको पनि स्थानीयले बताएका छन् । साईकल, मोटरसाईकल र गाडीसमेत बेलाबेलामा खसिरहेको उनीहरुले बताए । 

‘नहरचोकैमा केहीअघि एकजना सटर ग्रिल व्यवसायीकी बुहारी साईकलमा आइराखेथ्यो । ठ्याक्कै गाडी अगाडि आउँदा साइड लाउन खोज्दा नालामा खस्न पुग्यो’, घटनाको प्रत्यक्षदर्शी बताउने नेपाल प्रहरीका पूर्वडीएसपीसमेत रहेका स्थानीयबासी केदारराज पन्तले भने, ‘होपचोकमा म आफैं स्कुटीमा पल्टिएको छु । नाला पनि होचो बनेको छ ।’ फुटपाथमा कम्प्याक्ट नगरी टायल बिछ्याउँदा उप्किएर जताततै खाल्डाखुल्डी भइसकेकोतर्फ पनि उनले ध्यानाकर्षण गराए । बसपार्कतर्फको खण्डमा सडकपेटीमा कतिपय ठाउँमा टायलसमेत बिछ्याएको देखिन्न । पूरै झार उम्रेर पैदलयात्री हिँड्ने ठाउँ समेत भेटिन्न ।  

अहिलेसम्म मान्छे मर्नेगरी त्यस्तो ठूलै दुर्घटना भएको रेकर्ड नदेखिएपनि नालीको खुला अवस्था असुरक्षित नै रहेको सुरक्षा अधिकारीहरु पनि स्वीकार्छन् । ठाउँठाउँमा मोटरसाईकलहरु अनियन्त्रित भएर दुर्घटना हुने गरेको निकै वा पैदल हिँड्नेहरु पनि कहिलेकाहीँ सडकमा अनियन्त्रित भएर छेउमा लडे भने नालामै खसेर मुन्टै जोतिने तथा हातखुट्टा र टाउको भाँचिने सम्भावना रहन्छ । काठमाडौं जोड्ने वैकल्पिक राजमार्ग मात्र नभएर भरतप’र नारायणगढको म’ख्य रिंगरोड जोड्ने अति व्यस्त मार्ग हो । यहाँ छोटोछोटो दूरीमै जथाभाबी खोलिएको ओपनिङको कारण पनि गाडीहरु क्रस गर्ने क्रममा दुर्घटना बढेको भन्दै त्यस्ता अनावश्यक क्रसिङसमेत बन्द गराइने जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिल थापाले बताए ।

छेउमा एकापट्टि लहरै सरकारी कार्यालयहरु छन् भने अर्काेपट्टि घर र सटरहरुमा व्यवसायका लस्कर छन् । खुला नाला हुँदा कार्यालयहरूमा सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कहिलेकाहीँ मोडमा कर्मचारीसमेत खस्नसक्ने जोखिम देखिन्छ । जिल्ला हुलाक कार्यालयका कर्मचारीहरुले कार्यालय अगाडि सडकको यो दुरवस्था देख्दा केही खिन्नता र हैरानीको भाव जनाए । यहाँ नालामा एकपटक सेवाग्राहीको कार समेत खसेको सँगैको अर्काे सरकारी कार्यालयका सहयोगी कर्मचारी बताउँछन् । 

पहिले बाइपास रोडअगाडि नै गेट रहेको भएपनि अहिले बाइपासबाट दूरसञ्चार कार्यालयतर्फ आउने सडकसम्मुख नयाँ भवन र अर्काे मुख्य गेट बनाएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख विनोद पौडेलले भने, ‘त्यता ढकन छैन, यता नाला छैन ।’ नाला नहुँदा अर्काेतिर वर्षाको पानी जम्ने ठूलो समस्या रहेको उनले सुनाए ।

‘अहिले त हामीले वाल लगायौं । तर वर्षाको पानी सडकमा पूरै जम्मा हुन्छ । यहाँ नाला एकदम जरुरी छ’, उनले थपे, ‘फुटपाथ पनि बनाइदिए सजिलो हुन्थ्यो ।’ यहाँ हरेक शुक्रबार कार्यालय सरसफाइका क्रममा कर्मचारीहरुले कार्यालयभित्र र बाहिर वरपर बाटोसमेत सफा गर्दै आएको तर स्थानीयले फोहोर ल्याएर फाल्न भने नछोडेको गुनासो पनि उनले पोखे । भने, ‘कुखुराका भुत्ला जस्ता होटलका फोहोरहरु राति ल्याएर फालिदिन्छन् ।’

बाइपासको विस्तारित सडकनालामा समेत अनेक फोहोरहरु थुप्रिएका देखिन्छन् । सडकका दुवै किनारतर्फ बीचमा कताकती अलिअलि ढकनी राखेजस्तो गरेर नालाको अधिकांश भाग खुलै छोडिँदा फोहोर भरिएर जाम भई अस्ति भर्खर सडक कार्यालयले समय र ज्यालाको व्यर्थ खर्च बढाएर सफाइ गर्न मान्छे खटाइरहेकोसमेत देखियो ।

नालामा जताततै प्लााष्टिक र सिसाका बोलत ढुंगा मुढा, माटो आदि थुप्रिन पुगेका छन् । खुला नालाको कारण दुर्गन्ध समेत फैलिइरहेको स्थानीयले बताए । यस्तोमा लामखुट्टे झिंगा, भुसुना र हावाको माध्यमबाट डेंगु, मलेरिया, झाडापखाला जस्ता रोगव्याधिसमेत फैलिने बढी सम्भावना हुन्छ । नाला तीन–चार वर्ष अघि नै बनेको हो ।

यहीँनेर घर भएका चितवन अस्पतालका डाक्टर विजय पौडेल र अधिवक्ता महेश न्यौपानेलगायत स्थानीय टोलबासी भरतपुर सडक डिभिजनमा गएर नालामा ढकनी राखिदिन पटकपटक आग्रह गर्दै आएपनि यतिका वर्षदेखि अहिलेसम्म नहुनु लापरबाही र गैरजिम्मेवारीको चरम नमूना होइन ? ठेकेदार भाग्यो भनेर सडकका जिम्मेवार सरकारी कर्मचारी पन्छिन मिल्छ ? डिई र इन्जिनियरले के हेरी बसेको भन्दैछन् स्थानीय । यसमा कमिसन खेलको समेत आशंका गरिएको छ । 

फेरि यो बाइपास सडकचाहिँ महानगरपालिकाको होइन ? रेनु दाहालले यसकोचाहिँ ‘इनिसेसन’ लिनुपर्दैन ? उहिल्यै म्याद सकिएको ठेक्कामा अझै केही काम बाँकी छ भन्दै बसेका छन् सडकका कर्मचारी पनि । उता गौरीपार्वती पनि आफूले गर्नुपर्ने जति काम गरिसकें भन्दै बसिदिँदा सडकको दूरावस्था दिनदिनै अनि झनैझनै लम्बिँदो र बिग्रँदै गइरहेको छ ।

बल्ल यताबाट ठेक्का तोड्ने प्रक्रिया अघि बढेको सडक डिभिजन कार्यालयको भनाइ छ । सडकका प्रमुख नारायणप्रसाद लामिछाने हिजोअस्ति कार्यालयमा थिएनन्, उनको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन । इन्जिनियर शिला न्यौपानेले भनिन्, ‘सडकमा अझै केही काम बाँकी छ । फाइनल गरिसकें भन्ने गौरीपार्वतीले दाबी गरेर मात्र हुन्छ ?’ फुटपाथचाहिँ खानेपानी र विद्युतले आफ्नो काम गर्न खन्दा बनिसकेपछि नै बिग्रन पुगेको उनको भनाइ छ । 

यही बाइपास सडक छेउ जिल्ला प्रशासन कार्यालय नजिकै रहेको फलफूल तरकारी पसलअगाडि विद्युतको ट्रान्सफर्मरमा दिउँसै आगो बलेजस्तो झिल्को देखिने र त्यहीँ छेउमा दुवैतर्फ नांगो तारलाई रुखले छोइरहेको विद्युतको यो चरम लापरबाहीको अवस्थासमेत हिजै स्थानीयले देखाएका हुन् । बिहान ह्वाट्सअपमा फोटो पठाएपछि विद्युत प्राधिकरण भरतपुरका प्रमुख नरेन्द्रबीर श्रेष्ठले त्यो रुख आजै काट्न आफूले प्राविधिकलाई भनेको अघि फोनमा जानकारी गराए । 

टिप्पणीहरू