मधेसका काण्डवारे योगेश र रामकुमारीका कुरा
सिमरा घटनालाई लिएर नेकपा एमालेका दुई प्रभावशाली नेताले फरक प्रतिक्रिया दिएका छन् ।
एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत युवा संघको कार्यक्रमका लागि जाने क्रममा हिजो सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो । यसलाई लिएर बाहिरबाट विभिन्न टिप्पणी भैरहँदा सचिव योगेश भट्टराई र नवप्रवेशी रामकुमारी झाँक्रीका फरक प्रतिक्रिया आएका हुन् ।
भट्टराईले समग्र मधेशमा पार्टीप्रति बढेको नकारात्मक धारणाबारे अध्यक्ष केपी शर्मा ओलीलाई गम्भीर समीक्षा हुन आग्रह गरेका छन् । प्रदेश प्रमुखको बर्खास्तीदेखि सभामुख पदमुक्त भएको र मुख्यमन्त्रीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको सन्दर्भ उल्लेख गर्दै उनले यो अवस्था आउनुको कारण खोज्नुपर्नेमा जोड दिएका हुन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले मधेशमा पार्टीको छवि सुधार्न नयाँ जिम्मेवारीका साथ जानुपर्ने आवश्यकतासमेत औंल्याए ।
'आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन् । प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ)', उनले लेखेका छन्, 'मुख्यमन्त्री पद अदालतको कठघरामा छ । राजनीतिक रूपमा हामी एक्लिएका छौँ । पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ । यो सबै किन र कसका कारणले भयो ?'
प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ ।
यसबारे गम्भीर भएर सोच्न अध्यक्ष ओलीलाई भट्टराईले निवेदन गरेका छन् । 'मधेसमा स्वयम् पार्टी अध्यक्षले गर्नु भएको मेहनतमाथि किन,कसले र केका लागि खेलवाड गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनुपर्दछ', उनको भनाइ छ ।
अध्यक्ष ओलीका कारण पछिल्लो निर्वाचनमा मधेशमा एमालेको अवस्था सुधार भएको बताएका उनले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पनि यसको श्रेय दिएका छन् । 'भूमिगतकालदेखि नै मधेशका आधारभूत वर्गको बलियो समर्थन पार्टीका पक्षमा रहेको थियो । त्यतिबेला जनतासँग एकाकार भएर पार्टी निर्माणमा नेतृत्व गर्ने ईश्वर पोखरेल लगायतका नेताहरूलाई यसको श्रेय जान्छ', सचिव भट्टराईले भने ।
एकीकृत समाजवादी छोडेर हालै एमालेमा मिसिएकी झाँक्रीले भने सरकार र दलहरूबीच मुठभेड गराउने तत्वहरूले घटना घटाएको बताएकी छन् । संविधान फ्याँक्न चाहने अदृश्य शक्तिहरूको यसमा हात रहेको उनको दाबी छ।
'हिजो सिमरामा जे घटना भयो, अत्यन्तै दुःखद घटना भयो । अझै दृश्य वा अदृश्य पक्षहरूले सरकार र दलहरूबीच मुडभेड होस भन्ने चाहान्छन्', उनले पनि फेसबुकमा लेखेकी छन्, 'कुनै न कुनै बहानामा संविधान फ्याँक्न चाहान्छन् । हाम्रा हजारौँ नागरिक र अग्रजहरूको बलिदानबाट आएको यो व्यवस्था र संविधान हो यो ।'
सरकारलाई बदलाको भावनाबाट नभई संवादबाट अघि बढ्न आग्रह गर्दै झाँक्रीले शान्तिपूर्ण रुपमा भेला हुन पाउने नागरिकको अधिकार संविधानले नै सुरक्षित गरेको स्मरण गरेकी छन् ।
'नेपालको कुनै पनि भूभागमा निर्वाद आवतजावत गर्ने पाउने, विचारको छनौट गर्न पाउने, आफूलाई मन पर्ने विचार वा दलमा संगठित हुन पाउने, शान्तिपूर्ण रूपमा भेला, सभा सम्मेलन गर्न पाउने, संविधान प्रदत्त हकहरू हुन्', स्टाटसमा लेखिएको छ, 'यि हकहरू यहि संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको छ । यसलाई अक्षुण्ण राख्नु सरकारको कर्तव्य हो ।'
टिप्पणीहरू