दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आज हुने दोस्रो क्वालिफायरको खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्नेछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह ४ बजे शुरू हुनेछ ।
आजको खेलमा जित निकाल्ने टोलीले शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । त्यसैले दुवै टोली जित निकाल्दै पहिलोपटक फाइनल खेल्ने सोचमा रहेका छन् । विराटनगरले फाइनल प्रवेश गर्ने दोस्रो मौका पाएको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएपछि फाइनलको बाटो कोर्न असफल विराटनगरले दोस्रो क्वालिफायरमा मौका पाएको हो ।
यता लुम्बिनीले भने दोस्रो क्वालिफायरमा पुग्न बुधबार भएको इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले स्तब्ध पारेको हो ।
लुम्बिनी र विराटनगर एनपीएलमा दुई पटक आमने सामने हुँदा दुवै टोलीले एक/एक खेल जितेका छन् । यस सिजन भएको लिग चरणको खेलमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो ।
टिप्पणीहरू