सबै श्रेणीहरू

सडकमा हुँदा चर्का कुरा,मन्त्री बनेपछि अर्कै पारा

सडकमा हुँदा चर्का कुरा,मन्त्री बनेपछि अर्कै पारा

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जनताको अपेक्षाअनुसार सबै काम एकैचोटि गर्नसक्ने स्थिति नरहेको बताएका छन् । 

देश आर्थिक रुपले कमजोर रहेकाले सीमित स्रोत,साधनबाट काम गर्नुपर्ने बाध्यता उनले सुनाए । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा 'सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रम' लाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन् । 

सडकमा ट्राफिक लाइट जडान गर्ने, प्रहरीका भौतिक संरचना व्यवस्थित गर्नेजस्ता काम आर्थिक अवस्था कमजोर भएकैले भनेकै समयमा गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।

'नेपाल आर्थिक रुपमा कमजोर रहेको देश नै हो । त्यसैले चाहेको बेलामा सबैकुरा गर्न सकिरहेका छैनौँ ', उनले भने, 'भएका स्रोत साधनबाट हामी चल्नुपर्छ ।'

त्यसक्रममा मन्त्री गुप्ताले ट्राफिक नियम पालना गर्न आग्रह गर्दै ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्नेमा जोड दिए । सकारात्मक रुपमा अघि बढ्नसके सबै काम सफल बन्दै जानेउनको धारणा छ ।