प्रहरीमा कारबाहीदेखि राजश्व असुलीसम्मको चर्चा

प्रहरीमा कारबाहीदेखि राजश्व असुलीसम्मको चर्चा

कुनै समय प्रहरी सेवामा रहेका अधिकृतदेखि जवानसम्मका कर्मचारीहरूको रोजाइको जिल्ला मानिँदै आएको रुपन्देहीमा अहिले प्रहरी प्रमुखको कडा अनुशासनका कारण सरुवा, दरबन्दी मिलान वा काजमा आउनेहरू तर्सिन थालेका छन्।

भैरहवास्थित जिल्ला प्रहरी कार्यालय होस् वा बुटवलका इलाका प्रहरी कार्यालयलगायत रुपन्देहीका सबैजसो प्रहरी कार्यालय कर्मचारीका लागि आकर्षक गन्तव्य मानिन्थ्यो। बेलहिया इलाका प्रहरी कार्यालय, बुटवल वडा, भैरहवा वडा, धकधई, देवदह, सालझण्डी, सूर्यापुरा, लुम्बिनी, मर्चवार, बेथरी र मंगलापुरजस्ता महत्वपूर्ण इलाका प्रहरी कार्यालयमा सरुवा, दरबन्दी मिलान वा काजमा जान होडबाजी नै चल्थ्यो। तर समय फेरिँदै जाँदा अहिले रुपन्देहीमा यस्ता कर्मचारीको चाप घट्दै गएको छ।

जिल्लामा प्रहरी आचरणविपरीत काम गर्ने र अतिरिक्त आम्दानीको सोच लिएर आउने कर्मचारीहरू कार्यालय प्रमुखको कारबाहीमा पर्न थालेपछि स्रोत–फोर्स लगाएर आउनेहरू पनि हच्किन थालेका छन्।

गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गृह प्रदेशसमेत रहेको लुम्बिनी प्रदेशको रुपन्देहीमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी प्रदीपबहादुर क्षेत्रीले गलत काम गर्ने कसैलाई नछाड्ने नीति अंगिकार गरेपछि प्रहरी संगठनभित्र हलचल मच्चिएको हो।

रुपन्देहीमा प्रहरी आचरण तथा अनुशासनविपरीत काम गरेको अभियोगमा प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीसम्म कारबाहीमा पर्नुले उक्त कुराको पुष्टि गर्दछ। एसपी क्षेत्रीले प्रहरी संगठनभित्र शुद्धीकरण अभियान चलाउँदै जुनसुकै दर्जाका प्रहरी कर्मचारी भए पनि आचरणविपरीत काम गर्नेलाई कारबाही गर्ने नीति अपनाएका छन्।

‘प्रहरी आचरणविपरीत काम गर्नेलाई कारबाही गरिएको हो,’ संक्षिप्त प्रतिक्रिया दिँदै एसपी क्षेत्रीले सकारात्मक भावनासहित आफ्नो तहबाट सकेको राम्रो काम गरिरहेको बताए।

आफ्नै कार्यालयमा कार्यरत सहकर्मीमाथि समेत कारबाही हुन थालेपछि पछिल्लो समय रुपन्देही प्रहरीमा हलचल बढेको छ। प्रहरी आचरणविपरीत काम गरेको अभियोगमा एक जना प्रहरी हवल्दार, चार जना प्रहरी जवान र एक जना कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ। त्यस्तै, दुई जना प्रहरी हवल्दार र एक जना जवानको बढुवा रोक्का गरिएको छ।

यसैगरी दुई जना प्रहरी हवल्दार र पाँच जना जवानको तलबवृद्धि घटुवा गरिएको छ। रुपन्देही प्रहरीमा दुई जना प्रहरी सहायक निरीक्षक, चार जना वरिष्ठ प्रहरी हवल्दार, तीन जना हवल्दार, एक जना सहायक हवल्दार र पाँच जना जवानलाई नसिहत दिइएको छ। त्यस्तै, एक जना प्रहरी निरीक्षकलाई सचेत गराइएको छ भने दुई जना प्रहरी सहायक निरीक्षक, तीन जना प्रहरी हवल्दार र पाँच जना प्रहरी सहायक हवल्दारलाई पनि सचेत गराइएको छ।

यसै क्रममा एक जना प्रहरी हवल्दार, एक जना जवान र एक जना कार्यालय सहयोगीलाई सेवाबाट हटाइएको छ।

करिब १२ वर्षअघि विक्रम सिंह थापा रुपन्देहीका एसपी हुँदा प्रहरी आचरणविपरीत काम गर्ने अधिकृतदेखि जवानसम्मलाई सार्वजनिक स्थलमै कारबाही गर्ने गरेका थिए। हिन्दी चलचित्र ‘सिंघम’ बाट प्रभावित हुँदै ‘सिंघम एसपी’ को उपनाम कमाएका तत्कालीन एसपी विक्रम सिंहलाई सफल बनाउन त्यसबेला प्रहरी निरीक्षक रहेका प्रदीप क्षेत्री फिल्ड कमान्डरका रूपमा खटिएका थिए।

त्यतिबेला तिनाउ–दानव क्षेत्रमा हुने नदीजन्य पदार्थको अवैध उत्खनन तथा भलबारीस्थित नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थको चोरी–तस्करी उजागर गरी चर्चा कमाएका फिल्ड कमान्डर प्रदीप क्षेत्रीले अहिले रुपन्देहीको कमान्ड सम्हालेपछि चोरी–तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति गरेका छन्।

एसपी क्षेत्रीले कमान्ड सम्हालेयता रुपन्देही प्रहरीले चोरी–तस्करी नियन्त्रणका क्रममा १४ करोड ७२ लाख ३६ हजार ९ सय १३ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। गत वर्ष एक वर्षको अवधिमा जम्मा ५ करोड ९१ लाख ७६ हजार ९ सय १४ रुपैयाँ बराबरको मात्र राजस्व संकलन भएको थियो।

त्यसैगरी चोरी–तस्करीमा संलग्न १९१ जना व्यक्ति, ३ वटा ट्रक, ११ वटा पिकअप, २ सय ६२ वटा मोटरसाइकल, १० वटा अटो रिक्सा र २ वटा कार पक्राउ तथा बरामद गरिएको प्रहरीले जनाएको छ।

टिप्पणीहरू