अभिषेकको उम्मेदवारी,काँग्रेसमा खबरदारी
विवादास्पद पृष्ठभूमिका अभिषेक गिरीले विराटनगर महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै नेपाली काँग्रेसमा हल्लीखल्ली मच्चिएको छ । लामो समय पार्टीमा संघर्ष गरेकाहरुलाई ठाडो चुनौती दिँदै उनले उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसीहरूबाटै ‘गुण्डा नाइके’ को उपनाम पाएका उनको घोषणाले विद्यार्थीकालदेखि राजनीति गरेका कृष्ण बस्नेत,सन्तोष न्यौपाने,वर्तमान सभापति दिपक चापागाईँमाथि चुनौती थपिएको छ ।
यता, धेरै काँग्रेसीले पार्टीका ठूलै नेताले अभिषेकलाई काँध दिएको अनुमान लगाइरहेका छन् । विराटनगर–१०, मधुमाराका अभिषेकको पृष्ठभूमि विवादास्पद छ। उनी पटकपटक जेल पुगिसकेका छन् । जेलबाट छुटेपछि गिरी फाउण्डेशनमार्फत समाजसेवामा लागेका उनी ठेक्कापट्टामा संलग्न छन् । चुनावको तयारीका लागि विराटनगरस्थित कोइराला निवासअगाडिको कोशी मार्टमा सचिवालय पनि खाेलेका छन् ।
कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने उनको अडान छ । आफू सच्चा काँग्रेसी रहेकाले सहजै महानगरको सभापतिमा जीत हासिल गर्ने उनको दाबी छ । भन्छन्,‘काँग्रेसी भएकै कारण गुण्डाको आरोप लगाएर मलाई फसाइएको थियो । मैले सबै अपराधबाट सफाइ पाइसकेको छु । म अहिले समाजसेवामा सक्रिय छु । मलाई विगतले पछ्याउन सक्दैन ।’
हाल एमालेको केन्द्रीय सदस्यमा निर्वाचित पर्शुराम बस्नेतसँग अभिषेक समूहको झगडा पर्दा काटाकाटको अवस्था सिर्जना भएको थियो । पर्शुरामजस्तै नेता बन्ने आकांक्षाले अभिषेकले काँग्रेसको क्रियाशील सदस्यता लिएका हुन् । ‘राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन’ भनेझैं दुवै जना पछिल्लो समय कफि शपमा देखिने गरेका छन् । दुवै भन्छन्,‘न हाम्रो हिजो दुश्मनी थियो, न आज छ । हामीलाई त राजनीतिक कारणले जुधाइएको थियो ।’
टिप्पणीहरू