भुजुङ्ग हाइड्रोको आईपीओ निष्कासन, धितोपत्रमा उजुरी
भुजुङ्ग हाइड्रोपावर लिमिटेडले निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) विवादमा परेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्न लागेको थियो । तर, अप्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाले समेत शेयर पाउनुपर्ने भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी हालेपछि आइपीओ निष्काशन हुन नपाउँदै विवादित बनेको हो ।
लमजुङको मिदिम खोलामा निर्मित ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाले क्वोल्हासोथार गाउँपालिकाका बासिन्दालाई मात्र आइपीओ छुट्याएको छ । एक पालिकालाई मात्रै आईपीओमा सहभागी हुन पाउने व्यवस्था गरेको भन्दै जिल्लावासी असन्तुष्ट छन् ।
स्थानीय रामबाबु अधिकारी, अर्जुन मग्राती र गिरिन्द्रराज अधिकारी लगायतले हिजो बोर्डमा दर्ता गराएको उजुरीमा एउटामात्र पालिकाका बासिन्दालाई शेयर छुट्याउने व्यवस्थाले आईपीओमा भाग लिन पाउने जिल्लाबासीको अधिकार वञ्चित भएको उल्लेख छ ।
‘आईपीओ निष्काशनसम्बन्धी कम्पनीको उक्त निर्णय र धितोपत्र बोर्डको स्वीकृतिले सिंगो लमजुङबासीको नैसंर्गिक अधिकार हनन हुन पुगेको छ,’ दर्ता नम्बर ७७९६ रहेको निवेदनमा उल्लेख छ, ‘सबै जिल्लाबासीले आईपीओमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्न र माथिल्लो मिदिम जलविद्युत आयोजनाले गरेको आईपीओ निष्कासनसम्बन्धी निर्णय खारेज गरी स्थानीय जिल्लाबासी जनताको नैसंर्गिक हक अधिकार स्थापित गरी सबैले आईपीओमा सहभागी हुने कुराको सुनिश्चिताको आवश्यक व्यवस्था मिलाउनका यो निवेदन पत्र पेश गरेका छौं ।’
कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको भुजुङ्ग हाइड्रोले गत मंसिर ११ गते धितोपत्र बोर्डबाट १० लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको थियो । पुस ३ गते सूचना जारी गर्दै आवेदन मागेकोमा ६ लाख कित्ता क्वोल्हासोथार–४, का स्थानीयलाई छुट्याइएको छ । बाँकी चार लाख सोही पालिकका अन्य वडालाई छुट्याइएको छ ।
नेकपा एमालेका उपाध्यक्षसेमत रहेका पूर्व मुख्यमन्त्री तथा पूर्वसांसद पृथ्वीसुब्बा गुरुङको योजनामा क्वोल्हासोथारबासीलाई मात्र आइपीओ निष्कासन गराएर अन्य पालिकालाई ‘बाइपास’ गरिएको उजुरकर्ताको आरोप छ ।


टिप्पणीहरू