पहिले आंशिक, अहिले ठप्प अन्तरप्रदेश उडान
कोशीका पर्यटन व्यवसायीहरुले अन्तरप्रदेश हवाई सेवा नहुँदा पर्यटन विकासमा बाधा पुगेको गुनासो गरेको वर्षौं भइसकेको छ । अन्तरप्रदेश हवाई सेवा बन्द हुँदा पर्यटन विकासमा प्रभाव परेको उनीहरुको भनाइ छ । तीन दशकअगाडिसम्म सञ्चालन हुँदै आएको प्रादेशिक र अन्तरप्रदेश हवाई सेवा निजी कम्पनीहरुको आगमनसँगै बन्द भएको छ । सरकारले अतिरिक्त सुविधा दिएर भएपनि प्रादेशिक र अन्तरप्रदेश हवाई सेवा सञ्चालन गर्नुपर्ने माग उनीहरुको छ ।
पटकपटक सरकार परिवर्तन भएपनि सुनुवाई भएको छैन । सरकार फेरिएपिच्छे पर्यटन व्यवसायीहरु आफ्नो गुनासो सुनाउन पुग्छन् । वर्षौंदेखि उनीहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन् । यद्यपि, सरकार र विमान कम्पनीहरुको ‘कानमा बतास’ लागेको छैन । कोशी मुलुकको सबैभन्दा चर्चित पर्यटकीय गन्तव्यस्थल भएको प्रदेश हो ।
उद्योग, कृषि, शिक्षा, स्वास्थ्य र व्यापारको हिसाबले मात्र नभएर हिमाल, धार्मिक, एतिहासिक र प्राकृतिक सौन्दर्यले प्रदेश समृद्ध छ । तर, प्रादेशिक र अन्तरप्रदेश हवाई उडान नहुँदा कोशीको पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष असर पुर्याएको पर्यटन व्यवसायीहरुको गुनासो छ । कोशीको विराटनगर, इटहरी, धरान, भद्रपुर मुख्य व्यापारिक शहरमा पर्दछ ।
यति ठूलो आर्थिक गतिविधि र पर्यटकीय महत्व भएको कोशी प्रदेशबाट अन्य प्रदेशमा जानका लागि काठमाडौं नै पुग्नुपर्ने बाध्यता छ । विदेशी पर्यटकहरु हवाई यातायातका लागि काठमाडौं नै आउँछन् । कोशीको राजधानी विराटनगरमा एक मात्र प्रादेशिक विमानस्थल छ । यद्यपि, अहिलेपनि पोखरा, लुम्बिनी, नेपालगञ्ज वा सगरमाथा क्षेत्र जान पहिले अनिवार्य रुपमा काठमाडौं नै धाउनुपर्छ ।
पर्यटन व्यवसायीहरु भन्छन्,‘हामी प्रादेशिक र अन्तरप्रदेश हवाई उडान सञ्चालन गराउन एअरलाइन्स कम्पनी र सरकारलाई भन्दाभन्दै थाकिसकेका छौं । यो प्राकृतिक बाध्यता हैन, हामीमाथिको नीतिगत उपेक्षा हो ।’
व्यवसायीहरुका अनुसार २०५० को दशकको अन्त्यतिर विराटनगर–पोखरा, विराटनगर–भैरहवाको उडान आंशिक रुपमा सञ्चालन भएको थियो । साथै, प्रदेशको संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङलगायतका जिल्लामा पनि साप्ताहिक हवाई सेवा सञ्चालनमा थियो । ती उडानहरुले प्रदेशका जिल्लाहरुमा मात्र नभएर पूर्व र पश्चिम नेपालबीच सिधा हवाई सम्पर्क गराउँथ्यो ।
तर, एअरलाइन्सको बेवास्ता र निजी एअरलाइन्स कम्पनीहरुको स्वार्थले गर्दा अन्तर प्रदेश र प्रादेशिक हवाई सेवाहरु ठप्प भयो । मुलुककै चर्चित गन्तव्यमा पुग्न काठमाडौंबाट हवाई उडान गर्नुपर्छ । उद्योग वाणिज्य संघ, कोशीका पर्यटन तथा हवाई सेवा समितिका संयोजक भवेश श्रेष्ठले भने,‘प्रादेशिक र अन्तरप्रदेश हवाई सेवा बन्द हुनुको प्रमुख कारण यात्रु नपाएर मात्र होइन, काठमाडौंलाई एक मात्र हवाई केन्द्र बनाउने नीति हो ।’
उनका अनुसार २०५० पछि ‘होमअवे’ हवाई सेवा बन्द गरेर नेपालको आन्तरिक उड्डयन संरचना ‘हब एण्ड स्पोक’ मोडलमा आधारित बनाइयो । जसले गर्दा सबै उडानहरु काठमाडौं केन्द्रीत भएर मात्र मुलुकभर फैलिन थाल्यो । यसैले प्रदेशका जिल्ला र प्रदेश–प्रदेशबीचको सिधा हवाई सम्पर्क विकास हुन पाएन । जसको असर प्रदेशहरुको पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष पर्न थाल्यो ।
विराटनगरका पर्यटन व्यवसायी पुण्य भट्टराई निजी एअरलाइन्स कम्पनी र सरकारले प्रादेशिक र अन्तरप्रदेश पर्यटनको बजार छ भन्ने चाल पाएर पनि उपेक्षा गरेको बताउँछन् । सरकारले हवाई नीति बनाउनै नचाहेको उनको आरोप छ । हवाई उडानसँग सम्बन्धित ट्राभल्स एशोसिएशन, विराटनगरका पदाधिकारीसमेत रहिसकेका उनी भन्छन्,‘विराटनगर–पोखरा, लुम्बिनी, सोलु आदि रुटमा यात्रु हुँदैनन् भनेर टार्ने गरिन्छ तर यो तर्क कमजोर छ । यात्रु दिलाउने काममा हामी पर्यटन व्यवसायीहरुले पनि सहयोग गर्न सक्छौं । यसका लागि सरकारले आफ्नो केन्द्रीकृत सोच फेर्नुपर्छ ।’
कोशीमा पर्यटनहरु मनग्गे हुने पर्यटन व्यवसायीहरुको दाबी छ । भारतको पश्चिम बंगाल र बिहार राज्यबाट पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी, विराटनगरमा पर्यटक आउने गरेका छन् । सडक जीर्ण अवस्थामा भएकाले पर्यटकहरु यात्रा गर्नै चाहँदैनन् । अन्तरप्रदेश र प्रादेशिक उडान सञ्चालन भएमा पर्यटन प्रवर्द्धनमा धेरै सहयोग पुग्ने कोशीका पर्यटन व्यवसायीहरुको जिकिर छ ।
कोशी प्रमुख व्यापारिक क्षेत्र बनिसकेकाले सरकारले उडानमा ढिलाई गर्न नहुने उनीहरु बताउँछन् । पर्यटन वर्ष–२०८२ का सदस्य भवेश श्रेष्ठ अन्तरप्रदेश र उडान सेवा शुरु भएमा भारतको बिहार र बंगालबाट आउने यात्रुहरुको प्राकृतिक ट्रान्जिट विराटनगर बन्ने बताउँछन् । अन्तरप्रदेश उडान सञ्चालन गर्ने एअरलाइन्सलाई इन्धन वा नेभिगेशन शुल्कमा छुट दिएर प्रोत्साहन गर्ने विषयमा सोच्नुपर्ने उनको भनाइ छ ।
‘सरकारले अन्तरप्रदेश उडान सञ्चालन गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । सरकारसँगै कोशीकै सञ्चालकहरु रहेको एअरलाइन्सले यसमा चासो दिनुपर्छ’,उनले भने । मुलुकमा संघीयता कार्यान्वयनमा गएको आठ वर्ष बितिसकेको छ । सातवटै प्रदेशमा प्रादेशिक राजधानी शहरहरु तीव्र रुपमा विकास भइरहेको छ ।
कोशीमा प्रसिद्ध पाथीभरा, हलेसी, मनोकामना, बराह क्षेत्रलगायतका धार्मिक स्थल छन् । सँगै कञ्चनजंगा, सगरमाथा, मकालुलगायतका मनोरम हिमश्रृंखला छ । पर्यटन विज्ञहरुका अनुसार प्रदेश सरकारले हवाई अधिकार पाएमा रुट प्रवर्द्धन गर्ने, सिट ग्यारेण्टी दिने, एअरलाइन्ससँग सम्झौता गर्नेलगायतका क्रियाकलाप गर्न सक्छ । जसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ ।
विराटनगर–पोखरा, विराटनगर–भैरहवा(लुम्बिनी), विराटनगर–नेपालगञ्जजस्ता रुट केबल व्यवसायिक मात्र होइन, राष्ट्रिय एकीकरणका लागि पनि महत्वपूर्ण हुन सक्ने उनीहरुको भनाइ छ । पर्यटन व्यवसायी राजन श्रेष्ठ अन्तरप्रदेश उडानले यात्रुको समय र खर्च दुवै बच्ने बताउँछन् । साथै, त्यसले प्रदेशबीचको आर्थिक सम्पर्क पनि बलियो हुने उनको जिकिर छ ।
टिप्पणीहरू