बेलायतमा ठगी,नेपालमा माननीय ?
'जय नेपाल,नेपाली कांग्रेस पांचथर जिल्ला समितिका आदरणीय नेतृत्वज्यूहरुले आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारका लागि मेरो नाम सिफारिस गरिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।'
भूतपूर्व ब्रिटिश गोर्खा सूर्यकुमार नेम्वाङले निकै कृतज्ञ र उत्साहित हुँदै शुक्रबार फेसबुक स्टाटस लेखे । धेरैले उनलाई अग्रिम शुभकामना र बधाई समेत दिएका छन् । कमेन्ट हेर्दा लाग्छ,तिनलाई नेम्वाङको ठगी, आपराधिक क्रियाकलाप र फट्याइँ थाहै छैन । आफूलाई नेपाली कांग्रेसको नेता भन्ने उनले जिल्लामा भूपूबाट ठगेको मोटो रकम बुझाएर आफ्नो नाम सिफारिस गरेको श्रोतको दावी छ ।
अदालतबाट दोषी,मान्छे भने फरार
उनी लन्डनमा बसोवास गर्ने भूतपूर्व ब्रिटिश गोर्खा हुन् । गत मे अन्तिम साता नेपालको अदालतले ठगी मुद्दामा उनलाई दोषी ठहर गरेको छ तर सजायबाट मुक्ति पाउन अझै फरार छन् ।
काठमाडौंका जिल्ला न्यायाधीश रामचन्द्र खड्काको इजलासले नेम्वाङलाई ठगी मुद्दामा दोषी ठहर गरेको थियो ।
त्यतिबेला अदालतले सजाय निर्धारण गर्दै नेम्वाङलाई एक वर्ष कैद र जाहेरवालाहरुको ठगी तथा नोक्सान भएको बिगो रु ३२ लाख ५७ हजार ४ सय ७० फिर्ता गराउन फैसला गरेको थियो ।
९ कक्षासम्म अध्ययन गरेका नेम्वाङले गैर कानूनी रुपमा आफूलाई वकिल हुँ भन्दै बेलायतमा आवासीय अधिकार दिलाइदिन्छु भनी मोटो रकम लिएर काम नगरेपछि पीडितहरु दिलप्रसाद लिम्बु,एलिसा थाम्सुहाङ र रमिला राईले जाहेरी दिएपछि नेपाल सरकार वादी भएर गत ०८० साल फागुन १ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दाको दर्ता नम्बर ०८०– सि १–८१८९ हो ।
अदालतले प्रतिवादी नेम्वाङले मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ बमोजिमको कसुर गरेको ठहर गर्दै निजलाई सजाय तोकेको थियो ।
ब्रिटिश आर्मी भए पनि गोर्खा सैनिकका सन्तानलाई बेलायत लैजाने कार्य गर्न नेपाल सरकारबाट कुनै अनुमति नलिई नेम्वाङले रकम उठाएका थिए ।
भूपू गोर्खा आर्मीका सन्तान जाहेरवाला दिलप्रसाद लिम्बु र निजका दाजुभाइ एवं दिदी गरी चार जना,जाहेरवाला एलिसा थाम्सुहाङ,उनकी दिदी र जाहेरवाला रमिला राई, निजको दिदी दुई जना समेतलाई बेलायतमा गई काम गर्ने र बसोवासको व्यवस्था मिलाइदिने भनी दिलप्रसादबाट २१ लाख २७ हजार तीन सय रुपैयाँ, एलिसाबाट ४ लाख ७६ हजार र रमिलाबाट ६ लाख ५४ हजार १७० लिएका थिए ।
तर,जाहेरवालाहरुलाई तत्काल बेलायत नपठाई ठगेर कानून विपरित कार्य गरेको देखिंदा एक वर्ष कैद र ठगीको बिगो रकम मुलुकी अपराध संहिता २०७४ को दफा २५४ बमोजिम नेम्वाङबाट जाहेरवालाहरुले अलग अलग पाउने ठहर गरेको छ ।
नेम्वाङ नेपाल आउँदा २०८० माघ १५ देखि फागुन १ गतेसम्म थुनामा परेका थिए । ०८० चैत्र २ गतेको आदेशअनुसार माग भएको धरौटी रकम पाँच लाख पनि तारिख गुजारेपछि जफत भएको फैसलामा उल्लेख छ ।

टिप्पणीहरू