तेलको निम्ति अरुलाई तनाव
अमेरिकाले एउटा स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुकमाथि सैन्य आक्रमण गरी निर्वाचित राष्ट्रपति दम्पत्तिलाई सयन कक्षबाट उठाएर न्युयोर्क पुर्याएको छ । आफ्नो चाहना र स्वार्थका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको निर्देशनअनुरुप भएको भेनेजुएलामाथिको आक्रमण र राष्ट्रपति निकोलस मोदुरो दम्पतिको अपहरणले भेनेजुएलासँगै विश्वका धेरै देशसँगको नयाँ तनावमा अमेरिकालाई प्रवेश गराएको छ।
अमेरिकी अधिकारीहरूले पछिल्लो महिना भेनेजुएलाबाट करिब २० लाख ब्यारेल तेल कब्जा गरेका थिए । पेट्रोलियम पदार्थ र केही बहुमूल्य खनिजका लागि मरिहत्ते गर्दै आएको अमेरिका भेनेजुएलाले सन् १९७६ देखि आफ्नो तेल क्षेत्रलाई राष्ट्रियकरण गर्दा झन् क्रुद्ध बनेको थियो ।
भेनेजुएलामा विश्वकै सबैभन्दा ठूलो तेल भण्डार छ । अमेरिकी प्रशासनले भेनेजुएलाले गरेको तेल राष्ट्रियकरणको विरोधमा सन् २००५ देखि आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ ।
विशेषज्ञहरूका अनुसार हिजोको घटनाले अमेरिका–भेनेजुएला सम्बन्धमा दीर्घकालीन भू–राजनीतिक र आर्थिक असर पार्ने निश्चित छ । अमेरिकी विदेशनीतिका आलोचकहरू इतिहासमा तेलसँग सम्बन्धित हस्तक्षेपको श्रृंखला हेर्नुपर्ने बताउँछन् ।
सन् १९५३ मा इरानमा प्रधानमन्त्री मोहम्मद मोसादेकको तेल राष्ट्रियकरण नीतिपछि अमेरिकी गुप्तचर संस्था सिआईए द्वारा बेलायती अधिकारीहरूको सहयोगमा ‘कू’ गराइएको थियो भने सन् २००३ मा इराक युद्धपछि अमेरिकी–ब्रिटिश तेल कम्पनीहरूले ठूलो लाभ उठाएका थिए।
तत्कालीन इराक युद्धमा त्यहाँका राष्ट्रपति सद्दाम हुसेनमाथि जैविक हतियार बटुलेको आरोप लगाइएको थियो । अहिले भेनेजुएलाका राष्ट्रपति मोदुरोमाथि लागुपदार्थ ओसारपसारको आरोप थोपरिएको छ । त्यतिबेला सद्दामलाई जैविक,रासायनिक हतियार प्रयोग गरेको आरोप लगाएर उक्त मुलुकलाई ध्वस्त बनाइयो । उनै सद्दामलाई सोभियत संघ निकट इरानलाई परास्त गराउन अमेरिकाले नै आधुनिक शस्त्र,अस्त्र उपलब्ध गराएर सर्वशक्तिमान बनाएको थियो ।
टिप्पणीहरू