ट्रम्पले नोबेल पुरस्कार नपाएको झोंक नर्वे र फिनल्याण्डमाथि पोखियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेलाई लेखेको पत्रमा अब आफू ‘शान्ति’ का लागि मात्र सोच्न बाध्य नरहेको चेतावनीपूर्ण व्यहोरा लेखेका छन् । नोबेल शान्ति पुरस्कार नपाएको झोंकमा उनले यस्तो अभिव्यक्तिसँगै ग्रिनल्यान्डमाथि अमेरिकी नियन्त्रणको माग दोहोर्याएका छन् ।
युरोपेली मुलुकहरूले ग्रिनल्यान्ड अमेरिकालाई नदिएको भन्दै शुल्क (ट्यारिफ) लगाउने निर्णयको विरोध गर्ने नर्वे र फिनल्यान्डका नेताहरूको पत्रको जवाफ दिएका छन् । पत्रमा लेखिएको छ, ‘तपाईंको देशले आठ वटा युद्ध रोकिदिएको योगदानका लागि पनि मलाई नोबेल शान्ति पुरस्कार नदिएको कारण अब म शान्तिबारे मात्रै सोच्न बाध्य छैन । शान्ति सधैं प्राथमिकतामा रहनेछ, तर अब म अमेरिकाका लागि राम्रो र उचित के हो भन्नेबारे पनि सोच्न सक्छु।’
नर्वेका प्रधानमन्त्री स्टोरेले भने नोबेल पुरस्कार नर्वे सरकारबाट नभई स्वतन्त्र नोबेल समितिबाट प्रदान हुने तथ्य ट्रम्पलाई पटक–पटक स्पष्ट गरिसकेको बताएका छन्।
ट्रम्पले आफ्नो सन्देशमा ग्रिनल्यान्डमाथि डेनमार्कको सार्वभौमिकतामाथि पुनः प्रश्न उठाउँदै डेनमार्कले उक्त भूभागलाई रुस वा चीनबाट जोगाउन नसक्ने दाबी गरेका छन्।
‘डेनमार्कलाई त्यहाँ स्वामित्वको अधिकार किन छ? कुनै लिखित प्रमाण छैन, सयौं वर्षअघि एउटा डुंगा त्यहाँ पुगेको मात्र हो। हामी पनि त्यहाँ पुगेका थियौँ,’ ट्रम्पले लेखेका छन्।
तर ग्रिनल्यान्ड डेनमार्कको हिस्सा भएको कुरा १८१४ को सन्धिसहित विभिन्न अन्तर्राष्ट्रिय कानुनी दस्तावेजले प्रमाणित गरिसकेको छ। अमेरिकाले पनि यसअघि पटक–पटक ग्रिनल्यान्ड डेनमार्ककै अधीनमा रहेको स्वीकार गरेको छ।
‘ग्रिनल्यान्डमाथि पूर्ण नियन्त्रण बिना विश्व सुरक्षित हुँदैन’ सन्देशको अन्त्यमा ट्रम्पले भनेका छन्, ‘नाटो स्थापना भएदेखि मैले अरू कसैभन्दा बढी योगदान दिएको छु। अब नाटोले अमेरिकाका लागि केही गर्नुपर्छ। ग्रिनल्यान्डमाथि पूर्ण र सम्पूर्ण नियन्त्रण नभएसम्म विश्व सुरक्षित हुँदैन।’
ट्रम्पको उक्त अभिव्यक्तिपछि ग्रिनल्यान्डमा अमेरिकी कदमविरुद्ध प्रदर्शनसमेत भएका छन्। राजधानी नुकमा आयोजित प्रदर्शनमा ट्रम्पको ‘अधिग्रहण धम्की’को विरोध गरिएको रोयटर्सले जनाएको छ ।
टिप्पणीहरू