बल्झियो काँग्रेसको किचलो

बल्झियो काँग्रेसको किचलो

नेपाली कांग्रेसको आन्तरिक विवाद झनै् पेचिलो बनेको छ । आउँदो वैशाखमा महाधिवेशन गर्ने पार्टी संस्थापनको निर्णयविपरीत महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन आह्वान गरेको छ । आज पत्रकार सम्मेलनमार्फत आउँदो पुस २७ र २८ गते सम्पन्न गर्नेगरी विशेष महाधिवेशन आह्वान गरिएको हो । 

वर्तमान जटिल तथा विषम परिस्थितिलाई मध्यनजर गर्दै गत असोज २९ गतेमा ५४. ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका निम्ति केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए । 

तर, पार्टी संस्थापनले विशेष महाधिवेशनको साटो यही पुस २८ गतेभित्र नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि आफूहरु राजी भएकोमा अहिले महाधिवेशन वैशाखमा सारिएकोले बाध्य भएर विशेष महाधिवेशन आह्वान गरिएको उनीहरुको ठम्याई छ । 

‘पार्टीले ०८२ पुस २८ गतेभित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो तर तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन सकेन । यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको विधानको धारा १७ (२) बमोजिमको मर्म र भावनालाई सम्मान गर्दै विशेष महाधिवेशन आह्वान गरिएको जनाउँदै सहभागिताका निम्ति केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरिएको छ । 

महाधिवेशन व्यवस्थापनका लागि डेढ दर्जन उपसमितिसमेत गठन गरिएको छ । व्यवस्थापन, जनपरिचालन, मञ्च, यातायात, सूचना तथा प्रचारप्रसार, जेनजी युवा परिचालनलगायत १८ वटा उपसमिति गठन गरिएको हो ।

टिप्पणीहरू