आफ्नै अनुहारमा कालो दल्दादल्दै उकालोतिर
नेकपा अध्यक्ष प्रचण्डलाई कवितात्मक पत्र लेखेर पार्टी छोडेका वीरगन्जका रहबर अन्सारीमाथि 'जुन थालमा खायो, त्यसैमा छेद' गरेको आरोप लागेको छ ।
तत्कालीन माओवादीको वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रहेका अन्सारीले हिजो हुलाकमार्फत् राजीनामा बुझाएका थिए । डेढ दर्जन वामपन्थी घटकसँग एकता गर्ने प्रचण्डको निर्णयलाई साहस,इमान र जोखिम त्यागेको रूपमा अर्थ्याउँदै पार्टी छोडेका उनले समाजवादी क्रान्ति जिन्दावाद भनेका छन् ।
माधव नेपालहरूसँग मिलेर नेकपा बनाउनुलाई समाजवाद त्यागेको अर्थमा व्याख्या गरेका अन्सारी आफैँ भने चर्चायोग्य राजनीतिक इतिहास बनाएका पात्र होइनन् । उमेरले ४० वर्ष पुग्दै गरेका उनको वाम आन्दोलनमा ठोस योगदान छैन ।
माओवादी शान्ति प्रक्रियामा आएपछि ०६६ सालमा तत्कालिन नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका अन्सारीको राजनीतिक यात्रा त्यहीँबाट शुरु भएको हाे । १६ वर्षको यो अवधिमा उनले अवसर भने पाइरहे ।
चार वर्षअघि पार्टी कार्यालय तोडफोड गरेको आरोपमा पर्सा जिल्ला कमिटीले साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेको थियो । तर, अनुशासनको कारवाही भोगेका उनै पुरस्कृत हुँदै गए ।
२०७४ सालमा माओवादी केन्द्र वीरगन्ज महानगर कमिटीको अध्यक्ष भएका उनले त्यही वर्ष भएको स्थानीय तहको निर्वाचनमा मेयरको टिकट पाए । तर, निर्वाचित हुन सकेनन् । त्यसको ६ महिनापछि भएको प्रदेश सभा निर्वाचनमा पनि माओवादीले उनैलाई अघि सार्यो र पुन: पराजित भए ।
दुईचोटि टिकट पाएर लगातार हारेका अन्सारीप्रति प्रचण्डको मायामोह उत्तिकै थियो । फलस्वरूप ०७९ को निर्वाचनमा पनि प्रदेशसभातर्फ माओवादीले उनैलाई टिकट दियो । लगातार तेस्रो प्रयासमा जनप्रतिनिधि चुनिएका उनीलगत्तै पार्टीको जिम्मेवारीमा पनि माथि उक्लंदै वैकल्पिक केन्द्रीय सदस्य भए ।
माओवादीका थुप्रै मधेशी नेतालाई पछि पार्दै एकपछि अर्को अवसर पाइरहेका अन्सारी पार्टी अनुशासन तोड्नमा पनि अब्बल देखिए । प्रचण्डबाहेक अरूलाई टेरपुच्छर नलगलाउने र पार्टी कमिटीको निर्णय लत्याउने गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो ।
चार वर्षअघि पार्टी कार्यालय तोडफोड गरेको आरोपमा पर्सा जिल्ला कमिटीले साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेको थियो । तर, अनुशासनको कारवाही भोगेका उनै पुरस्कृत हुँदै गए ।
पछिल्लो पटक मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिने दलको निर्णयविरुद्ध उभिएका उनले प्रदेशसभा बैठकमा आफ्नै अनुहारमा कालो दलेका थिए ।

टिप्पणीहरू