बालेनको शहरमा घाम ताप्न ३० रुपैयाँ !
काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको शंखधर उद्यान (पूर्व रत्नपार्क) मा प्रवेश गर्न सर्वसाधारणबाट ३० रुपैयाँ शुल्क असुल्ने गरिएको छ । सार्वजनिक जग्गा र जनताले तिरेको करबाट निर्माण गरिएको पार्कमा प्रवेशकै लागि शुल्क लिनु न्यायोचित नभएको जनाउँदै सर्वसाधारणले असन्तुष्टि जनाएका छन् ।
साँगामा सडमाथिको झोलुङ्गे पुल तर्न २० रुपैयाँ असुलिएको विषय सेलाउन नपाउँदै काठमाडौं महानगरभित्र पार्क छिर्न पनि पैसा लिने विषय चर्चामा आएको छ । अरुलाई सुशासनको पाठ सिकाउने नेतृत्व आफैं कुशासनतर्फ उन्मुख भएको आरोप लगाइएको छ ।
काठमाडौंको अत्यधिक भीडभाड भएको क्षेत्र बागबजार–रानीपोखरी आसपास खुला स्थानको अभाव छ । घाम ताप्ने, केही समय बस्ने वा बालबालिकालाई घुमाउने ठाउँ अभाव हुँदा सर्वसाधारण बाध्य भएर पार्कतर्फ जान खोज्छन् । तर, पार्क प्रवेशमै शुल्क तोकिएपछि आर्थिक रूपमा कमजोर नागरिकहरू बाहिरैबाट फर्किनुपर्ने अवस्था छ ।

शंखधर उद्यान (रत्नपार्क) काठमाडौं महानगरपालिकाको उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले सञ्चालन गर्दै आएको छ । वि.सं. २०२१ सालमा तत्कालीन राजा महेन्द्रले रानी रत्नको नाममा निर्माण गरिदिएको उक्त पार्कलाई २०७१ मंसिरमा सम्पन्न सार्क शिखर सम्मेलनलाई लक्षित गर्दै पुनःनिर्माण गरिएको थियो ।
करिब १५ महिना लगाएर पुनःनिर्माण गरिएको पार्कको क्षेत्रफल झण्डै ४२ रोपनी छ । पुनःनिर्माणपछि पार्कको नाम परिवर्तन गरी शंखधर उद्यान राखिएको हो । वि.सं. २०७२ असार १५ गतेदेखि पार्क प्रवेशमा शुल्क लागू गरिएको छ ।
पार्क प्रवेशका लागि प्रतिव्यक्ति ३० रुपैयाँ, विद्यार्थी परिचयपत्र भएका विद्यार्थीका लागि २० रुपैयाँ शुल्क तोकिएको छ । पर्यटकका लागि २० रुपैयाँ शुल्क लिने व्यवस्था छ । यसैगरी, विदेशी चलचित्र छायांकनका लागि प्रतिदिन २० हजार, नेपाली चलचित्रका लागि १० हजार, नेपाली टेलिचलचित्रका लागि सात हजार, डकुमेन्ट्रीका लागि सात हजार, नेपाली विज्ञापन भिडियोका लागि पाँच हजार र विदेशी विज्ञापन भिडियोका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

व्यावसायिक रिल तथा टिकटक बनाउन १५ सय रुपैयाँ, व्यक्तिगत प्रयोजनका लागि ड्रोन प्रयोग गर्न एक हजार रुपैयाँ शुल्क लिने व्यवस्था पनि गरिएको छ ।
उक्त पार्क सार्वजनिक जग्गामा निर्माण गरिएको हो । सार्वजनिक जग्गा सबै नागरिकको साझा सम्पत्ति भएकाले त्यसमा प्रवेश गर्न पैसा असुल्नु कानुन र सामाजिक न्यायको भावना विपरीत भएको जानकारहरू बताउँछन् ।
पार्कमा घाम ताप्न आएका बागबजारका विकास देवकोटाले पार्क व्यवस्थापनका नाममा सर्वसाधारणसँग पैसा उठाउनु उचित नभएको बताए । ‘पार्क व्यवस्थापनको खर्च लाग्छ भन्ने कुरा ठीकै हो । चलचित्र र व्यावसायिक गतिविधिबाट शुल्क उठाउँदा जायज होला, तर पार्क छिरेकै ३० रुपैयाँ लिनु ठीक होइन,’ उनले भने ।
त्यस्तै, बालबच्चा घुमाउन ल्याएकी नितु सुवेदीले पनि पार्क प्रवेशमा शुल्क लिन नहुने बताइन् । भनिन्, ‘खुला ठाउँ छैन । बच्चालाई कहाँ लिएर जाने ? यहाँ आउँदा पनि ३० रुपैयाँ तिर्नुपर्छ । महानगरले निजी क्षेत्रले जस्तो व्यापार गर्न थालेको महशुस भयो ।’

शंखधर उद्यान नजिकै मुलुककै जेठो अस्पताल वीर अस्पताल छ । त्यहाँ दैनिक हजारौं बिरामी र कुरुवा आउने गर्छन् । कुरुवाहरू घाम ताप्ने ठाउँ नपाएर फुटपाथमा चकटी ओछ्याएर बस्न बाध्य छन्, जसका कारण पैदलयात्रीलाई हिँड्न समेत समस्या हुने गरेको छ ।
बिरामीका एकजना कुरुवाले भने, ‘भित्र चिसो हुन्छ, बाहिर घाम ताप्ने ठाउँ छैन । अगाडि पार्क छ तर पैसा तिर्नुपर्छ । हरेक पटक ३० रुपैयाँ तिर्न सकिँदैन ।’ उनका अनुसार महानगरले फोहोर नगर्न अनुरोध गर्न सक्थ्यो । ‘फोहोर गर्नेबाटै सफा गराउन सकिन्थ्यो,’ उनले भने ।

भक्तपुरको सल्लाघारी चौर र सिद्धपोखरीजस्ता सार्वजनिक स्थल निःशुल्क रूपमा सर्वसाधारणका लागि खुला रहेका उदाहरण दिँदै जानकारहरूले काठमाडौं महानगरको नीति नागरिकमैत्री नभएको टिप्पणी गरेका छन् ।
यस विषयमा उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका प्रमुख उत्तम घलेले भने पार्क व्यवस्थापनका लागि सामान्य शुल्क लिइएको दाबी गरे । उनका अनुसार संकलित रकम महानगरपालिकाको ढुकुटीमा जान्छ र पार्क संरक्षण तथा व्यवस्थापनमा खर्च गरिन्छ ।
खुला स्थानको चरम अभाव झेलिरहेको काठमाडौंमा सार्वजनिक पार्कमा प्रवेश शुल्क लगाउने नीतिले महानगरको सुशासन, सामाजिक न्याय र नागरिक अधिकारप्रति गम्भीर प्रश्न उठाएको छ ।

टिप्पणीहरू