ओलीलाई बचाउन खोज्दा लिलीलाई आपत

ओलीलाई बचाउन खोज्दा लिलीलाई आपत

भदौ २३ गते कलिला युवामाथि भएको दमनबारे राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान गरिरहेको छ । अनुसन्धानको संयोजक हुन्, लिली थापा । संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गरी नियुक्त ५२ पदाधिकारीमध्येकी । 

नेकपाभित्र चलेको अन्तरसंघर्षका बेला संसद् विघटन गरी ओलीले ५२ जनालाई विभिन्न आयोगमा नियुक्त गरेका थिए । ‘आशा भए पनि यसरी तत्कालै नियुक्त हुन्छुजस्तो लागेको थिएन, प्रधानमन्त्रीज्यूले माया गरेका कारण यो अवसर पाएँ ।’ त्यही बेला एमाले भ्रातृसंगठन मानवअधिकार एलायन्सका पदाधिकारीलाई थापाले भनेकी थिइन्, ‘हजुरहरूले सहयोग गर्नुपर्छ, एलायन्स र आयोगबीच सहकार्य हुने वातावरण म मिलाउँछु ।’ नभन्दै त्यहीअनुसार आयोगलाई उनले चलाइन् । 

‘सचिव हुने आशामा रहेका तत्कालीन निमित्त सचिव मुरारी खरेल सरलाई सकेसम्म दुरूपयोग गर्नुभयो ।’ आयोगका एक सहसचिव भन्छन्, ‘एमालेको भ्रातृसंगठनसँग सहकार्य गर्नुपर्छ मात्र भन्नुभएन, दातृनिकायसँग समेत त्यसरी नै प्रस्तुत हुनुभयो ।’ उनका अनुसार मानवअधिकार एलायन्सका तत्कालीन अध्यक्ष मीनबहादुर शाही र गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले इन्ट्रान्स क्याफेमा बोलाएको एमालेनिकट मानवअधिकारकर्मीको गोप्य भेलामा समेत थापा खरेललाई लिएर पुगेकी थिइन् । एकपक्षीय भेला देखेर खरेलले अप्ठ्यारो महसुस गरेका थिए । ‘लिली म्याडमले भनेपछि सचिवज्यू सँगै जानुभएछ, त्यहाँ पार्टीका कुरा हुन थालेपछि अप्ठ्यारो भएछ ।’ खरेलले कार्यालयमा आएर सुनाएको विगत सम्झँदै एक सहसचिव भन्छन्, ‘धन्न, मिडियाका साथीहरू थिएनन्, कसैले फोटो खिचेन, रामप्रसादजीले पनि फोटो नखिचौं भन्नुभएकाले बचियो ।’

एमाले अध्यक्ष ओलीसँग आयोगले लिएको बयानका भित्री कुरा जनआस्थाले गतहप्ता प्रकाशन गरेपछि थापा आक्रोशित भएकी थिइन् । उनले जनआस्थालाई पुर्जी काटेर बयानका लागि आयोगमा बोलाउनेसम्मको धम्की दिइन् । समाचार स्रोतबारे पटक पटक सोधेकी थिइन् । ‘बयानभित्रका कुरा बाहिर आएपछि आयोगमा लिली म्याडम आक्रोशित देखिनुभएको थियो, जनआस्थालाई बोलाउन चिठी काट्ने निर्देशन नै दिनुभएको थियो’, आयोगका एक कर्मचारी भन्छन्, ‘समाचार लेखेकै भरमा बयानमा बोलाउन मिल्दैन, खण्डन गर्ने हो, प्रेस काउन्सिलमा उजुरी गर्ने हो भनेर हामीले अडान लिएपछि उहाँ केही शान्त हुनुभयो ।’ 

आयोगभित्र हुने गरेका अनेक चलखेलको कारण कर्मचारी वाक्क भएको ती कर्मचारी बताउँछन् । जनआस्थासँग भन्छन्, ‘आयोगमा प्रवक्ता हुनुहुन्छ, सहप्रवक्ता हुनुहुन्छ, सूचना अधिकारीको पनि व्यवस्था छ तर कुनै पनि कर्मचारीले किन खण्डनमा हस्ताक्षर गर्नुभएन ?’ लिली थापाले सही गरेको विज्ञप्ति देखाउँदै ती कर्मचारी भन्छन्, ‘एउटा समाचारलाई आयोगका सदस्यआफैंले हस्तक्षेप गरी तुरुन्तै वक्तव्य निकाल्ने अवस्था संवैधानिक आयोगमा किन आयो ? कर्मचारीलाई हस्ताक्षर गर्न आग्रह गर्दा किन मानिएन, यहीँबाट बुभ्mनुपर्छ कि त्यहाँभित्र के भइरहेको छ ?’ आयोगकै सहसचिव नवराज सापकोटा विज्ञप्तिका विज्ञ हुन् तर उनले  उक्त विज्ञप्ति सम्पादन गरेको देखिन्न,’ अनुसन्धान महाशाखामा कार्यरत एक कर्मचारी भन्छन्, ‘आयोगका सदस्यले संवैधानिक आयोगको गरिमा राख्न सक्नुपर्छ ।’ कतिपय एनजिओले सापकोटालाई विज्ञका रूपमा समेत बोलाउने गरेका छन्् । हुन पनि थापा र सचिव खरेलविच अहिले बोलचाल बन्दजस्तै छ । उता, दातृनिकायले आफूसँग थापाका बारेमा गुनासो पोखेको, आयोगको काम गर्ने तरिका फलो नगरेको, आयोगको गरिमा संकटमा पर्न लागेको भन्दै चित्त दुखाइरहेका हुन्छन् । 

जनआस्थाको समाचारबारे विषयमा एमाले नेता र केही एनजिओका पदाधिकारीसँग समेत थापाले कुरा गरेकी छन् । ‘अध्यक्षज्यूप्रति सफ्ट कर्नर हुन खोजेको भनेर समाचार नै लेखाएछन् ।’ एमाले नेतासँग थापाले भनेकी थिइन्, ‘कर्मचारीले पूरै असहयोग गरेका छन्, काम गर्ने वातावरण नै छैन, विज्ञप्तिमा सही गर्नसमेत मानेनन् ।’ विभिन्न स्रोतमार्फत एमालेबाट थप सहानुभूति लिन थापाले प्रयास गरेको एक नेताले बताए । ‘नियुक्ति दिनेहरूप्रति सहानुभूति हो तर सहयोग गर्नु सामान्य र आयोगभित्रको असहयोगका कारण काम गर्न कठिनाइ रहेको बताउनुभयो ।’ एक जना एमाले नेता भन्छन्, ‘रवि लामिछाने भैरहवा जेलमा हुँदा अनुगमनका नाममा उहाँले जे फण्डा गर्नुभयो, त्यसबाट रिसाएको पार्टी नेतृत्वको मन जित्ने गरी उहाँले केही न केही गर्न खोज्नुभएको थियो, ओलीको बयान त्यही हुन सक्छ ।’

आयोग स्रोतका अनुसार थापाले विभिन्न परियोजनामा अस्वाभाविक हस्तक्षेप गरेपछि खरेलले व्यावसायिकताको सवाल अध्यक्ष तपबहादुर मगरसँग उठाएका थिए । ‘लिली म्याडमका केही स्वार्थ जोडिएका फाइललाई सचिवज्यूले अड्काउनुभएकै हो ।’ आयोग स्रोत भन्छ, ‘हेर्दा मानवअधिकारका सवालमा धेरै राम्रो गरेजस्तो तर कन्सल्टेन्ट राख्ने, कसलाई काम दिनेजस्ता विषयमा हस्तक्षेप हुन थालेपछि सचिवज्यूले व्यावसायिकताको सवाल उठाउनुभयो ।’ बेलाबखत अध्यक्ष मगरले थापा र खरेलबीच सहज वातावरण बनाउनसमेत भूमिका खेल्नुपरेको आयोगका कर्मचारीले बताएका छन् । 

आयोगसँग सहकार्य गर्न आउने संस्थाहरूलाई आफ्नो एनजिओसँग समेत सहकार्य गर्न थापाले भन्ने गरेको गुनासो सुनिन्छ । ‘लिली म्याडमले एकल महिलाको मानवअधिकारका विषयमा धेरै राम्रो काम गर्नुभएको पक्कै हो तर त्यसको बदलामा आयोगका साझेदार उहाँको संस्थासँग पनि काम गर्न जानुपर्छ भन्ने त छैन नि !’ एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारीले सुनाएको प्रसंग जनआस्थालाई साभार गर्दै आयोगका एक सहसचिव भन्छन्, ‘एकल महिलाको मानवअधिकारका विषयमा डब्लु एच आरसँग सहकार्य गर्नुस्, आयोगबाट म साथ दिन्छु भन्नुभएछ, बालविधवाका विषमा विगतमा उहाँले खोज अनुसन्धान गरेर मुद्दा हालेको विषय पनि हरेक संस्थाका प्रतिनिधिसँग कोट्याउनुहुँदोरहेछ र साझेदारीको प्रस्ताव राख्नु भएछ ।’ थापाले एनजिओका निम्ति पैसा मागेको विषयमा बेला–बेला आयोगभित्र चर्चा हुने गरेको अर्का कर्मचारीले बताए ।  

(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)  

टिप्पणीहरू