सम्पत्ति जलाउनेहरूको सल्बलाहट

सम्पत्ति जलाउनेहरूको सल्बलाहट

भदौ २४ गते काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न सरकारी तथा निजी संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको अनुसन्धान रोकिएको छ । आगो लगाउने कामको नेतृत्व गर्ने, व्यक्तिका सम्पत्ति जलाउनेहरू केही समय भूमिगत थिए । तर अहिले फेरि सल्बलाउन थालेका छन् । 

घटनामा संलग्नहरूको तथ्य र प्रमाणसहित किटानी जाहेरी दिए पनि मुलुक निर्वाचनतर्फ केन्द्रित भएकाले तत्कालका लागि अनुसन्धान रोक्न गृह मन्त्रालयले गरेको परिपत्रअनुसार जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थाती राखिएको बताएको छ । अरू दलले मोटरसाइकल र्‍याली आयोजना गर्दा मासु र भातका लागि पेट्रोल दिएर आएँ भन्नेहरू अहिले आफैँ र्‍याली केन्द्रित हुन थालेका छन् । नेताहरूको फोटा राखेर कार्यक्रम आयोजना हुँदा व्यक्ति पूजा भन्नेहरू अहिले आफैँ ठुल्ठूला पोस्टर बनाउँदै छन् । ठगी, अपराधमा संलग्नहरूलाई धमाधम पार्टी प्रवेश गराइँदै छ । बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी युनिट तथा बिटहरू, युलेन्स स्कूललगायतमा आगजनी गरिएको थियो । 

पनौतीमा शिवप्रसाद हुमागाई, रामशरण भण्डारी, गीता बञ्जारा, गोपी थापा, रामेश्वर थापा, पुरुषोत्तम अधिकारी, भीम न्यौपाने, दीपक न्यौपाने र विमल न्यौपानेको घरमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो । पनौती प्रहरी चौकी, प्रहरी बिट र नगरपालिकामा पनि क्षति भएको छ । धुलिखेलस्थित अशोक ब्याञ्जुको घरमा आगजनी, लुटपाट र तोडफोड गरिएको थियो । प्रहरी बिटमा आगो लगाइएको थियो । भदौ २५ गते कारागार कार्यालयमा कैदीहरूले आगजनी गरेका थिए । पाँचखाल, मण्डनदेउपुरको हिगुवापाटीस्थित प्रहरी चौकी र सवारी साधनमा आगो झोसिएको थियो । पीडितहरूको तर्फबाट घटनामा संलग्न सयभन्दा बढीविरुद्ध किटानी जाहेरी दर्ता भए पनि प्रहरीले केहीको मात्रै अनुसन्धान गरेको छ । अरु जोहरीका बारेमा प्रहरी मौन छ । गृहमन्त्रीको निर्देशनले अनुसन्धान रोकिएको हो । 

प्रहरीले शुरुमा बनेपा ९ लायकुबाट मण्डनदेउपुर ७ घर भएका सन्तोष श्रेष्ठलाई कटुवा पेस्तोल र ३६ राउण्ड गोलीसहित २०८२ भाद्र २८ गते पक्राउ गरेको थियो । प्रहरीले हतियारसहित पक्राउ गरेको भए पनि अभद्रमा मुद्दा दर्ता गर्‍यो । त्यस्तै, बनेपा–९ नयाँबस्तीबाट ०८२ भाद्र २८ र २९ गते प्रहरीले ७३० राउण्ड गोली फेला परेको थियो । २०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय बनेपाबाट लुटिएको गोली भनी पक्राउ परेकाहरूले बयान दिएका थिए । तैपनि प्रहरीले सबैलाई अभद्रमा मात्रै मुद्दा दर्ता गर्‍यो । प्रहरी आफैँ संकटग्रस्त अवस्थामा रहँदा रहँदै पनि प्रहरीले नागरिकको सुरक्षामा ध्यान केन्द्रित गर्‍यो । 

क्षति पुगेका अधिकांश प्रहरी कार्यालय स्थानीयको सक्रियतामा पुनर्निर्माण गरिएका छन् । ब्यक्तिका घर पनि स्थानीयको सहयोगमा पुनर्निर्माण शुरु गरिएको छ । राज्यका तर्फबाट कुनै सहयोग छैन । अधिकांश पीडित आफन्तको सहारामा बसिरहेका छन् ।

(जनआस्था साप्ताहिकको पुस ३० गते बुधबारको अंकमा प्रकाशित)  

 

टिप्पणीहरू