सबै श्रेणीहरू

इलाममा बाबु छोरासँग पालैपालो भिड्दै कांग्रेस

इलाममा बाबु छोरासँग पालैपालो भिड्दै कांग्रेस

मौसमजस्तै विस्तार–विस्तार निर्वाचनको सरगर्मी बढ्दै गएको छ । इलामको चिसो मौसम पनि तातिँदै गएको छ । नियमित नभई भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले अचानक निम्त्याएको निर्वाचन हो यो । यसैले निर्वाचनको माहोल ह्वात्तैअघि बढ्न सकेको छैन । दुई निर्वाचन क्षेत्र रहेको इलाममा २७ जना प्रत्यासी छन् । 

क्षेत्र नम्बर १ मा १४ र २ मा एक स्वतन्त्रसहित १४ जना प्रतिस्पर्धा गर्दै छन् । इलाम–२ मा सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ एमालेका युवा उम्मेदवार हुन् भने कांग्रेसबाट पाका नेता भेषराज आचार्य उठेका छन् । नेम्वाङ र आचार्य चुनावी मैदानमा उत्रिएको इलाम–२ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । यस कारण पनि रोचक छ कि १२ वर्षअगाडि बाबु सुवासचन्द्रसँग चुनावी प्रतिस्पर्धा गरेका भेषराज यसपटक छोरासँग भिड्दै छन् । 

यस पटक एमाले मात्र होइन सुहाङलाई समेत बाबुको विरासत जोगाउने चुनौती छ । यता आचार्यलाई भने बाबुसँग १२ वर्षअघिको हारको बदला लिने मौका र चुनौती दुवै छ । बाबुको निधनपछि २०८१ को उपनिर्वाचनमा पनि सुहाङले कांग्रेसका डम्बर खड्कालाई पराजित गरेका थिए । बाबुसँग १ सय १४ मतले मात्र पछि परेका खड्कालाई सुहाङले ५ हजार ८३० मतले हराएका थिए ।

इलाम–२ लाई एमालेको बलियो पकड भएको क्षेत्रको रूपमा हेरिन्छ । यहाँका सबै निर्वाचन एमालेले लगातार जित्दै आएको छ । सुहाङ आफैंमा शालिन छन् । लोकप्रिय छन् । उनले छोटो कार्यकालमा सदनमा उठाएका मुद्दा र जेन्जी आन्दोलनपछि दिएको अभिव्यक्तिका कारण युवामाझ पनि लोकप्रिय छन् । विकास निर्माणमा गरेको पहल र विपत्तिको बेला नागरिकको घरदैलोसम्म पुगेका सुहाङ इलाममा रुचाइएका मध्येका उम्मेदवार हुन् । 

यता भेषराज पनि चार दशक लामो राजनीतिक अनुभव सँगालेका उम्मेदवार हुन् । पार्टीको जिल्ला सभापति र संसदीय निर्वाचनमा हार व्यहोरेर अवसर नपाएका नेताको रूपमा चिनिन्छन् । आचार्यलाई कांग्रेस वृत्तमा लामो राजनीतिक अनुभव र रणनीतिक कार्यकर्ता भएका नेताको रूपमा हेर्ने गरिन्छ । यसैले चुनावी मैदानमा १४ जना भए पनि यस क्षेत्रमा सुहाङ र भेषराजकै प्रतिस्पर्धा हुने देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने इलामलाई खास महत्व नदिएको भान हुन्छ । २०८१ मा मिलन लिम्बूलाई उठाउँदा रास्वपा तेस्रोमा सीमित बनेको थियो । रास्वपा इलाम जित्नेमा आशावादी थियो । यहाँको मत परिणामले उथलपुथल नै ल्याइदियो । इलामको मतपरिणामले देशैभरि समीक्षा र अध्ययन गर्न बाध्य बनाएको थियो । यसपटक भने मिलन जति नचिनिएका उम्मेदवारलाई उठाइएको छ । हर्क साम्पाङको श्रम सँस्कृति पार्टीका उम्मेदवार पनि छन् ।

इलाम–१ मा एमालेका काजीमान कागते उठेका छन् । २०७४ को निर्वाचनमा प्रदेश सांसद बनेका काजीमान २०७९ को स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिका प्रमुखमा पराजित भएका थिए । कांग्रेसले भने एमालेले इलाम–२ मा युवा सुहाङलाई उम्मेदवार बनाएर जसरी नै युवा उम्मेदवार उठाएको छ । कांग्रेसले निश्कल राईलाई उम्मेदवार बनाएर युवा मतदातालाई समेत आकर्षित गर्न खोजेको छ । 

उता, नेपाली कम्युनिष्ट पार्टीबाट सूर्योदयका प्रमुख रणबहादुर राईलाई उठखाइएको छ । दुई पटक प्रमुख बनेका उनी ‘पपुलर मेयर’ को रूपमा चिनिन्छन् । पहिलो पटक एमालेबाट प्रमुख निर्वाचित भएर नेकपा एसबाट दोस्रो पटक प्रमुख बने । उनी एमाले र कांग्रेसका उम्मेदवारहरूसँग प्रतिस्पर्धामा खरो उत्रिने अनुमान गरिएको छ । 

इलामको निर्वाचनमा पुराना पार्टीहरूबीच नै प्रतिस्पर्धा हुने तर नयाँ पार्टीहरूले पनि मत भने विगतभन्दा बढाउने विश्लेषण गरिएको छ ।