'यौटै खोरमा दुइटा शेर,रहँदैनन् धेरै बेर' भनेजस्तै अवस्थामा पुगेको छ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । रवि लामिछानेमाथि फौजदारी अभियोग लागेसँगै नेतृत्व संकटबाट गुज्रिंदै आएको सो पार्टीमा बालेन्द्र (बालेन) साहको प्रवेशसँगै यस्तो स्थिति देखिएको हो ।
पार्टी प्रवेशलगत्तै बरिष्ठ नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइएका बालेन्द्रको क्रेजका आगाडि सभापति पद नै छाँयामा परेको छ । चुनावी अभियानका लागि बालेन्द्र देश दौडाहामा व्यस्त रहँदा रवि भने गुमनाम छन् । निर्वाचनको मुखमा सृजित यो स्थितिले रास्वपामा नयाँ शक्ति समीकरण जन्माएको अनुमान गरिएको छ ।
बताइएअनुसार घण्टी चिन्हबाट झापा-५ को उम्मेदवार रहेका बालेन्द्रले अहिलेसम्म पार्टी सदस्यता लिएका छैनन् । महानगरको मेयर पदबाट राजीनामा दिएकै दिन बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका उनी पद तथा गोपनीयताको शपथ नखाई निस्किएका थिए । रविसँगै त्यहाँ राखिएको ठूलो घण्टी बजाएर निस्किएका उनी फेरि फर्किएर त्यता गएका छैनन् ।
छानविन आयोगले निर्णय नदिंदै प्रधानमन्त्रीले नै गोली हानेर मान्छे मारेको जसरी भ्रमपूर्ण प्रचार गरिएको छ । जबकि कानुनत: प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिनै सक्दैन ।
पार्टीको सांगठनिक शक्तिलाई भन्दा आफ्नै लोकप्रियताप्रति विश्वस्त रहेको सन्देश दिँदै यतिबेला उनी देश दौडाहामा छन् । माघ ५ गते मधेश प्रदेशबाट चुनावी अभियान शुरु गरेका बालेन्द्र पूर्वी नेपालको एक चक्कर लगाएर अहिले सुदूरपश्चिम पुगेका छन् । यसबीच जहाँ-जहाँ पुगे त्यहाँ भव्य स्वागत पाए । माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको दिन त दमकमा थेगिनसक्नु भीड उर्लिएको थियो ।
पूर्वबाट फर्किएर एकदिन काठमाडौँमा रोकिएका बालेन्द्र बनस्थलीस्थित घण्टी घर गएनन् । बरू पहिलेदेखि नै सम्पर्क कार्यालयका रुपमा प्रयोग गर्दै आएको ज्वागलस्थित कुमार बेनकै घरमा महत्वपूर्ण भेटघाट गरे । रास्वपाका आफूपक्षीय नेता र उम्मेदवारलाई पालैपालो बोलाएर भेटेका उनी भोलिपल्ट सुदूरपश्चिम हान्निए । तर, यसबीचमा उनले सभापति लामिछानेलाई भने भेटेनन् ।
बरिष्ठ नेताले यसरी बिजुलीको बेगमा राजनीतिक सक्रियता व्यापक बनाउँदा सभापति भने गुमनाम छन् । उम्मेदवारी मनोनयनको दिन माघ ६ गते जिल्ला अदालत पर्सा पुगेका रवि त्यसयता एक दिन अस्पताल भर्ना भएबाहेक कतै देखिएका छैनन् । त्यसअघि जनकपुरको सभामा पनि बालेन्द्रको अगाडि फिका भए । निकै तामझामका साथ आयोजना गरिएको सभामा उनी बोलेपछि कार्यकर्ता सबै जर्याकजुरुक उठेर हिँडे । अन्तिममा रविले भाषण गर्दा आधाउधी मान्छे घर पुगिसकेका थिए ।
पार्टी र सभापति लामिछानेप्रति खासै आशक्ति नदेखाएका बालेन्द्र स्वतन्त्र छवि बढाएर जान खोजेको बुझिन्छ । जबकि रास्वपाका जन्मदाता रवि भने बालेन्द्रको क्रेजलाई प्रयोग गरेर चुनावमा धेरै सिट जित्ने अनि पार्टीलाई बलियो बनाउने रणनीतिक योजनामा अघि बढेका छन् । यही रणनीतिक द्वन्द्वले ढिलो-छिटो रास्वपामा शक्ति संघर्ष चर्किने सम्भावना नकार्न सकिंदैन । घामको अगाडि जून फिका भएजस्तै 'अब रविका दिन गए' भन्ने ढंगले पनि कतिपयले टिप्पणी गरेको पाइन्छ ।
यदि ओलीले फिल्डमा खटिएका कमाण्डरलाई मौखिक वा लिखित आदेश दिएको भए आरोप लगाउनेहरूले आफै निकट प्रधानमन्त्री,गृहमन्त्री र कानुन मन्त्री भएको बेला त्यसको प्रमाण सार्वजनिक गर्न पनि सक्नुपर्छ ।
पार्टीमा सभापतिलाई छायाँमा पारेका बालेन्द्रले अन्य पार्टीका नेतालाई पनि महत्व दिएका छैनन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त 'हत्यारो' को संज्ञा दिँदै 'पब्लिक डिबेट' गर्नसमेत अस्वीकार गरेका छन् । त्यसो त सार्वजनिक जवाफदेहिता र प्रश्नबाट निरन्तर उम्किने उनको विशेषता नै हो ।
रास्वपा र बालेन्द्रहरूले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ युवाको ज्यान जानुमा तत्कालीन प्रधानमन्त्री ओलीलाई जिम्मेवार ठान्दै आएका छन् । छानविन आयोगले निर्णय नदिंदै प्रधानमन्त्रीले नै गोली हानेर मान्छे मारेको जसरी भ्रमपूर्ण प्रचार गरिएको छ । जबकि कानुनत: प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिनै सक्दैन ।
यदि ओलीले फिल्डमा खटिएका कमाण्डरलाई मौखिक वा लिखित आदेश दिएको भए आरोप लगाउनेहरूले आफै निकट प्रधानमन्त्री,गृहमन्त्री र कानुन मन्त्री भएको बेला त्यसको प्रमाण सार्वजनिक गर्न पनि सक्नुपर्छ । जस्तो, ०४६ सालको आन्दोलनमा तत्कालीन गृहराज्यमन्त्री निरन्जन थापा आफैं वाकीटाकी सेट लिएर गृह मन्त्रालयमा बसेका थिए । त्यतिबेला उनले प्रहरीलाई गोली हान्न ठाडो आदेश दिएको प्रमाण बाहिरिएको थियो ।
कानुनअनुसार प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले बाहेक अरूले गोली चलाउने आदेश दिन मिल्दैन । नेपाली सेनाले चुनावका लागि तयार पारेको आन्तरिक प्रतिवेदनमा पनि सिडिओसँग मात्र त्यस्तो अधिकार रहेको उल्लेख छ ।
यता,खुट्टामा सानो चोट लाग्दा पनि तीन दिन अस्पताल बसेका रवि लामिछाने आज डिस्चार्ज भएका छन् । अस्ति त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनी आज साँझ निको भएर घर फर्किएका हुन् । माघ ५ गते जनकपुरको सभामा स्टेजबाट ओर्लिँदै गर्दा भीडको ठेलमठेलमा परेर लामिछानेको देब्रे खुट्टामा चोट लागेको भनियो तर भोलिपल्ट बिहान कुद्दै पर्सा जिल्ला अदालतमा एक करोड धरौटी बुझाएर सोझै चितवन गएको देखियो ।
चोट लागेको एक हप्तापछि अस्पताल गएका उनलाई बालेन्द्रसँग तुलना गरेर यहीबेला समाचार आउन थालेपछि फेक फोटो भाइरल गराइयो । देब्रे खुट्टामा घाउ लागेको भए पनि दाहिने खुट्टाको बूढी औँलादेखि कम्मरसम्म प्लास्टर गरेको नक्कली फोटो बनाएर प्रचार गरिएको थियो । बालेन्द्रको जगजगीबीच रविको पक्षमा सहानुभूति बटुल्न सामाजिक सञ्जालमा 'गुड लक् रवि दाइ' लेख्नेहरुले यस्तो कीर्ते कर्म गरेको बुझिन्छ ।



