नयाँ आयोजनामा कडाई, क्रमागत प्राथमिकतामा

नयाँ आयोजनामा कडाई, क्रमागत प्राथमिकतामा

अर्थ मन्त्रालयले आगामी वर्ष २०७८/७ं९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयहरुसंग गरेको छलफलमा अर्थ मन्त्रालयले नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो ।

छलफलका क्रममा अर्थ मन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्ताव भन्दा पनि अघिल्लो आर्थिक वर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न मन्त्रालयहरूलाई आग्रह पनि गरेको छ ।

छलफलमा मन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव धनिराम शर्माले अघिल्ला आर्थिक वर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ राखी सोही अनुरूप योजना तर्जुमा गर्न आग्रह गरेका छन् । उनले अगाडि नबढाइ नहुने आयोजना भने अध्ययनको लागि प्रस्ताव गरेर अगाडि बढाउन सकिने बताए ।

त्यस्तै, सरकारले उपलब्ध गराउने ससर्त अनुदानको बारेमा त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने अर्थको तयारी छ । ससर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएको र अपनत्व पनि कसैले नलिएका कारण अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र प्रदेशसँग छलफल गरेर मात्र अगाडि बढाउने महाशाखा प्रमुख शर्माले जानकारी दिए ।

अर्थ मन्त्रालयले कार्यसञ्चालन खर्चमा समेत मितव्ययिता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटको कार्यसञ्चालन सम्बन्धी बजेट वृद्धि नगर्ने भएकाले मन्त्रालयहरूलाई बजेट नबढाउन आग्रह गरिएको हो ।

बजेट पूर्वको छलफलमा विभिन्न मन्त्रालयका सचिव, योजना तथा कार्यक्रम प्रमुखहरूले आ-आफ्ना मन्त्रालयबारे धारणा राखेका थिए ।

टिप्पणीहरू