३३ महिनापछि बीमाको नयाँ ब्यवस्था

३३ महिनापछि बीमाको नयाँ ब्यवस्था

बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले लगातार दुई कार्यकालभन्दा बढी समय जिम्मेवारी वहन गर्न चाहेमा थप चार वर्ष कुर्नुपर्ने भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकले सरकारले प्रस्ताव गरेको बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई परिमार्जन गर्दै बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले एउटै संस्थामा लगातार दुई कार्यकाल लामो समय जिम्मेवारी वहन गर्न नपाउने व्यवस्था गरेको हो ।

तर,लगातार दुई कार्यकाल पूरा गरेको सञ्चालक चार वर्षपछि भने पुनः नियक्त वा बहाल हुन पाउने छ । बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले एक कार्यकाल चार वर्षको हुनेछ । उनीहरुको पदावली बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनअनुसार नै निर्देशन गर्न लागिएको हो ।

हाल सञ्चालकहरुले आफूमध्ये बहुमतले छानेको व्यक्ति अध्यक्ष हुन पाउने र पुनः नियुक्त वा बहाल हुन पाउने व्यवस्था छ । यस्तै, स्वतन्त्र सञ्चालक अध्यक्ष हुन नपाउने तथा एक कार्यकाल मात्रै नियुक्त हुनसक्ने व्यवस्था पनि गरिएको छ । यसअघि प्रस्तावित विधेयकमा स्वतन्त्र सञ्चालक समेत अध्यक्ष हुन पाउने व्यवस्था गरिएको थियो ।

अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीका अनुसार ‘बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त हुन बीमा,मौद्रिक,बैकिङ्ग,वित्तीय, वाणिज्यशास्त्र,व्यवस्थापन, जनप्रशासन,तथ्याङकशास्त्र, गणित,अर्थशास्त्र वा वाणिज्य कानून विषयमा कम्तीमा स्नानकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनु पर्ने भएको छ । यसअघि कानून विषयमा स्नानकोत्तर गरेकाले पनि नियुक्ति पाउने गरी प्रस्ताव गरिएको’ छ ।

सरकारले संसदमा बीमा विधेयक पेश गरेको ३३ महिनापछि दफावार छलफलको कार्य सिध्याएको छ । विधेयकमा हालको बीमा समितिलाई प्रतिस्थापन गरी प्राधिकरण गठन गर्न प्रस्ताव गरिएको छ ।

टिप्पणीहरू