पहिलो ह्याप्पी बर्थ डे

संविधानको पहिलो जन्मदिन अस्ति मनाइयो । यसलाई पहिलो ह्याप्पी बर्थ डे भन्दा नि हुन्छ । त्यसो त हाम्रो नेपाल आमाले धेरै संविधान जन्माइसकेकी छन् । तर, तीमध्ये कुनै पनि धेरै वर्ष बाँचेनन् । कसैलाई पोलियोले लग्यो, कसैलाई जन्डिसले, कसैलाई हैजाले लग्यो । कोही बाँचेन । त्यसपछि नेपाल आमाले सन्तान जन्माउन नयाँ प्रविधि प्रयोग गरिन् । त्यो हो ‘संविधानसभा प्रविधि’ ।
नयाँ प्रविधिबाट नयाँ शिशु त जन्म्यो तर यसप्रति मानिस सन्तुष्ट छैनन् । कोही भनिरहेका छन्, यो शिशुको त अंगै पुगेको छैन । कोही भनिरहेका छन्, अरे यो त हाम्रो इलाकाको सबैभन्दा स्वस्थ शिशु हो । कोही भन्छन्, यो शिशु बिरामी छ । कोही भन्छन्, यो तगडा छ । यहाँसम्म कि कोही यसलाई कालो भनिरहेका छन् त कोही सेतो ।
तर, जसले जे भने पनि एक वर्ष भयो, शिशु राम्ररी चल्न सकिरहेको छैन । एक वर्षको शिशुले जुन खाले प्रतिक्रिया दिनुपथ्र्यो त्यो पनि दिइरहेको छैन । शिशुको यो अवस्था देखेर केहीले सुझाएका छन्, अब एकपटक अपरेसन गर्नुपर्छ । हुन त योभन्दा अघि पनि शिशुको एउटा अपरेसन भइसकेको थियो । तैपनि, शिशु राम्ररी चल्न सकेन । त्यसैले फेरि अर्को अपरेसनको कुरा आयो । यति सानो शिशुको यसरी घरी–घरी अपरेसन गरिरहनु ठीक होला र ? फ्याट्ट केही भइहाल्यो
भने ? कि कतै यसलाई पनि नेतालाई जस्तै उपचारको लागि विदेशतिरै पठाउने ?

टिप्पणीहरू