एकतामा सन्देश

अन्ततः कांग्रेस एकै ढिक्का भयो । महासमिति बैठक अवधिभरि कांग्रेस टुक्रा–टुक्राजस्तै अवस्थामा थियो । टुक्रा पनि यति कि कति टुक्रा भन्नै नसकिने । आठ दिनसम्म टुक्रै टुक्रामा बित्यो । नवौं दिन एकाएक एकताको सन्देश आयो ।  कार्यकर्तालाई यति तिलस्मी शैलीको एकताको सन्देश आउला जस्तो लागेको थिएन । तर आइदियो । कहाँबाट आयो, कसरी आयो, कसले ल्यायो, कसैलाई थाहा छैन । 

कांग्रेसमा हुने नै यस्तै हो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको पालामा पनि यस्तै हुने गथ्र्यो । महाधिवेशन शुरु भयो कि कलह शुरु । कचमच । ठासठुस । किचिमिचि । कार्यकर्ता चिन्तित हुन्थे । तर जब अधिवेशन सकिन्थ्यो । एकाएक एकताको सन्देश आइदिन्थ्यो । र, त्यही एकताको सन्देश वितरण गर्दै अधिवेशन समापन हुन्थ्यो । 

अहिले पनि त्यस्तै भएको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको लडाइँले पार्टी नै छिन्नभिन्न होला जस्तो भइसकेको थियो । कलहले गर्दा महासमिति बैठक लम्बेको लम्ब्यै भयो । तर अन्तिम दिन पहिलेजस्तै एकताको सन्देश आइदियो । र, त्यही बाँड्दै बैठक समापन भयो । 

साँच्चै कांग्रेसमा यस्तो एकताको सन्देश कहाँबाट, कसरी आउँछ होला है ?

टिप्पणीहरू