​सिंहदरबारमै सूचनाको संकट

सिंहदरबारभित्रका कर्मचारी नै ‘कुहिराको कागको नियतिमा छन्’ भने अरूको हालत के होला ? आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवलाई बढुवा ग¥यो । क–कसको सचिवमा बढुवा भयो ? सोमबार अपराह्नसम्म कर्मचारी अनभिज्ञता प्रकट गर्दै थिए । 

अपराह्न जनआस्थाकर्मी राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव विष्णु लामिछानेको कार्यकक्षमा थियो । तिनलाई एक सचिवले फोनमा सोधे– को–को बढुवा भएछन् ? ३९ वर्षदेखि सरकारी सेवामा रही तीन महिनापछि घर जान लागेका लामिछाने अनभिज्ञता प्रकट गरिरहेका थिए । उस्तै अवस्थामा भेटिए प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव विनोद कुँवर । पहिला मन्त्रिपरिषद्को बैठक सकिनासाथ सञ्चारमन्त्रीले निर्णय सार्वजनिक गर्दै आएकोमा २५ कात्तिकदेखि तत्काल भन्न छाडिएको छ । र, हरेक बिहीबार मात्र निर्णय सार्वजनिक हुन थालेपछि क–कसको सरुवा÷बढुवा भयो ? भन्ने विषयमा कर्मचारी अनभिज्ञ देखिन्छन् । जबकि आइतबारको बैठकले सिञ्चाइ मन्त्रालयका सहसचिव माधव बेल्वासेलाई बढुवा गरेर राष्ट्रिय सतर्कता केन्द्रको जिम्मेवारी दिएको अवस्था थियो । त्यहाँका सचिव विष्णु ओमवादे १५ महिना काम गरेर १५ दिनअघि नै घर गएपछि सचिव पद रिक्त थियो । सोही बैठकले शिक्षा सेवाकी सहसचिव देवकुमारी गुरागाईंलाई बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारी दिएको छ । गुरागाईं लोकसेवा आयोगका सचिव महेन्द्रकी बहिनी हुन् । 

समायोजनको सकस 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा । झण्डै ७७ हजार कर्मचारीको समायोजन टुंग्याउन तल्लीन छन् त्यहाँका २३ कर्मचारी । झोलाभरि प्रेसर, सुगरका औषधि बोक्छन् र खटिन्छन् महाशाखा प्रमुख केदार पनेरु । ५६ वर्षको उमेर । दबाब यति कि मन्त्री, नेता, सांसददेखि कलाकार, पत्रकारसम्म मेरा मान्छेलाई संघमा पारिदे भन्दै भेट्न आउँछन्÷तारन्तार फोन गर्छन् । केही दिनअघि सचिव दिनेश थपलियाले हकारे ‘मेरो फलानो मान्छेको समायोजन किन स्थानीय तहमा गरेको, उसलाई संघमै मिलाइदेऊ’ भन्दै । तर, केदारले जवाफ फर्काए, ‘मलाई बिदा दिई यो ठाउँमा अरूलाई ल्याएर राख्नुहोस्’ ।

नाजवाफ भएर फर्किएका उनै सचिव थपलिया अस्ति आइतबार मात्र उद्योगमन्त्री मातृका यादवसँग भन्दै थिए, ‘केदार पनेरुको ठाउँमा म खटिएको भए पनि कर्मचारी समायोजन गर्न सक्दैनथें ।’ आइतबार जनआस्थाकर्मी उनै पनेरुको कार्यकक्षमा थियो । पूर्वमन्त्री महेन्द्र यादव आफ्नो दाजुको सरुवा संघमा मिलाइदिनुप¥यो भन्न आइपुगे । त्यही भीडमा मिसिएका थिए हाँस्यकलाकार नारद खतिवडा । उनी पनि आफ्ना मान्छेलाई संघमा पारिदिन दबाब दिँदै थिए । तर, टसमस भएनन् पनेरु । ‘व्यक्तिका अनुहार हेर्न थालेको भए ५७ हजार निजामती कर्मचारीको समायोजन टुंगिने थिएन’, पनेरु थप्छन्, ‘ज्येष्ठताका आधारमा समायोजन हुन्छ, जे गर्छ सफ्टवेयरले गर्छ । पनेरुले कसैलाई चिन्दैन ।’ कर्मचारी नेताहरू संघ नछाड्न तीव्र लबिङमा थिए । उनीहरूको लबिङले समेत काम गरेन । हालसम्म भएको समायोजनमा आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्य ढकाल, कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्ष गोपाल पोखरेल, माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल, नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहन घिमिरे, युनियन (संघ)का उपाध्यक्ष उत्तम कटुवाल, उपमहासचिव यज्ञराज अर्याल, सचिव नवराज पाण्डेलगायत नेता संघमै समायोजन भएका छन् भने आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा र नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव टेकनाथ न्यौपाने स्थानीय तहमा गएका छन् । 

टिप्पणीहरू