समुन्द्र २० वर्षपछि फर्किए

समुन्द्र २० वर्षपछि फर्किए

गायक समुन्द्र श्रेष्ठको सांगितिक क्षेत्रमा पुनरागमन भएको छ । ‘साँझैमा ए गोरी आउन’ बोलको गीतबाट चर्चा बटुलेका उनी २० वर्षको अन्तरालपछि म्युजिक इन्डष्ट्रिमा फर्केका हुन् ।

समुन्द्रको स्वरमा ‘ऐया हो’ बोलको गीत रेकर्ड भएको छ । ओएसआर डिजिटलको युटुब मार्फत् सार्वजनिकको तयारीमा रहेको उनको गीत छिट्टै सार्वजनिक हुने बताइएको छ । ‘ऐया हो’ बोलको गीतमा शब्द तथा संगीत गायक आफँैको रहेको छ भने एरेञ्ज सुदिप सिंहले गरेका छन् ।

सिंहकै निर्देशन रहेको गीतमा जोहेब शाह र स्विन्जा सिञ्जुले अभिनय गरेका छन् । प्रदीप जोशीको ध्वनी मुद्रण तथा मिश्रण रहेको ‘ऐया हो’ हो को छायांकन तथा सम्पादन फराज अर्पणले गरेका छन् ।

गायक श्रेष्ठले २०४९ सालतिर अजर अमात्य ,पवन शाक्य, निरज अमात्य र सुरेन्द्र रञ्जितलाई साथमा लिएर सनप व्याण्ड स्थापना गरेका थिए । उक्त व्याण्ड २०५२ सालतिर ‘स्प्रिट व्याण्ड’ मा परिमार्जित भएको थियो । स्प्रिटमा परिणत हुँदा व्याण्डका सदस्यहरु पनि फेरिए ।

सनप ब्याण्ड परिमार्जन नहुँदै ‘तिम्रो नजर नशालु’ बोलको गीत श्रेष्ठले बजारमा ल्याएका थिए । स्प्रिट ब्याण्ड सञ्चालनमा ल्याएपछि भने सोनिया म्युजिक एल्बम निकालिएको थियो । जसमा निर्देशक स्वर्गीय आलोक नेम्वाङको सल्लाहअनुसार साँझैमा ‘ए गोरी आउन’ गीतको भिडियो बनाइएको थियो ।

उक्त गीत दर्शक तथा स्रोताको माया पाए पनि हिटलिस्टमा पुगेर समेत क्यासेटले प्रतिफल दिएन । दर्शक तथा स्रोताको प्रतिक्रिया पनि थाहा पाउन नसक्दा निर्माता टोलीको संगीतप्रति रुचि घट्दै गएपछि सबै आफ्नो बाटो लागेका थिए ।

गायक श्रेष्ठले भने व्यवसायसँगै संगीतलाई समेत निरन्तरता दिएका हुन् । गायक श्रेष्ठका भाई सनातनले थाहै नदिई युट्युबमा अपलोड गरेको ‘साँझैमा ए गोरी आउन’ गीतलाई दर्शक तथा स्रोताले धेरै माया गरेको थाहा पाएपछि समुद्र म्यूजिक इन्डष्ट्रिमा फिर्ता आएका हुन् ।

श्रेष्ठको स्वर रहेको गीत छिट्टै बजारमा आउने बताइएको छ । तर, मिति भने सार्वजनिक गरिएको छैन ।

टिप्पणीहरू