कपिलवस्तुमा पनि आयाराम,पर्सि केपी ओली जाने

कपिलवस्तुमा पनि आयाराम,पर्सि केपी ओली जाने

स्थानीय चुनावको घोषणापछि अन्यत्रझैँ आयाराम र गयारामहरुको मन कपिलवस्तुमा पनि डोलाउन थालेको छ । यस्ता गतिविधिले अरु राजनीतिक दललाई भन्दा अलि बढी एमालेलाई नै छुनेजस्तो देखिन्छ । स्वयम् एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको बैठकमा जसरी पनि मान्छे तान्न निर्देशन दिएपछि त्यसो नहुने कुरो पनि भएन ।

नेपालसँग सीमाना जोडिएको भारतको उत्तर प्रदेश राज्यमा भर्खरै चुनाव सकिएको छ । भाजपाका योगी आदित्यनाथले फेरि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै छन् । त्यही राज्यको छिमेकी जिल्ला,गौतम बुध्द जन्मेको ठाउँ कपिलवस्तुको सदरमुकाम तौलिहवामा पनि केही दलका कार्यकर्ताले चुनावकेन्द्रित रणनीति बनाउन थालेका छन् । त्यो रणनीतिको मुख्य पात्र एमाले बन्ने भएको छ ।

गत २०७४ सालको आमनिर्वाचनमा केही उम्मेदवार आफूलाई स्वतन्त्र भन्दै सूर्य चिन्ह लिएर उठेका थिए । त्यस्तामध्ये कपिलवस्तुका बृजेशकुमार गुप्ता पनि हुन् । उनी कपिलवस्तु ३ बाट उठेर विजयी पनि भए । त्यसअघि सँधै मधेशवादी दलहरुमा हुन्थे । त्यहि चिन्ह लिएर नवलपरासीमा हृदयेश त्रिपाठी उठे र जिते । उनीहरुले चिन्ह सूर्य लिए, निर्वाचन जिते तर आजसम्म पनि आफूलाई स्वतन्त्र सांसद भनिरहेका छन् ।

“दुई महिना अगाडितिर नयाँ पार्टी खोले तर पार्टी खोले पनि संगठन विस्तारमा लागेको देखिएन । त्यसको उद्देश्य निर्वाचनको अघिल्तिर एमालेमा बस्न र सूर्य चिन्हबाट चुनाव जित्नको लागि बार्गेनिङ पावर बढाउन गरिएको अहिले पुष्टि भएको छ । “

अघिल्लो केपी शर्मा ओलीको सरकारले प्रतिनिधिसभा विघटन गरेर अदालतले जगाएपछि भने नयाँ खेल खेले । वर्तमान सरकार गठनलगत्तै नयाँ पार्टी गठन पनि गरे । दुई महिना अगाडितिर नयाँ पार्टी खोले तर पार्टी खोले पनि संगठन विस्तारमा लागेको देखिएन । त्यसको उद्देश्य निर्वाचनको अघिल्तिर एमालेमा बस्न र सूर्य चिन्हबाट चुनाव जित्नको लागि बार्गेनिङ पावर बढाउन गरिएको अहिले पुष्टि भएको छ ।

राजनीति त्यत्तिमा सीमित छैन । उनै बृजेश चैत ४ गते तराईको होलीलगत्तै काठमाडौं आए । बालकोट पुगेर ओलीको हातबाट पार्टी खुसुक्क सदस्यता लिई गृहजिल्ला गए ।

योजनाअनुसार अब चैत १४ गते सोमबार एमाले अध्यक्ष ओलीलाई उनै गुप्ताले कपिलवस्तु बोलाएका छन् । बालकोटमा ओलीसँग भएको सहमतिअनुसार गुप्ताले उक्त दिन अरुलाई पनि पार्टी प्रवेश गराउने वचन दिएका छन् । तर उक्त वचनसँगै उनले एमाले प्रवेश गर्ने आफ्ना केही मान्छेलाई तौलिहवाको मेयरलगायत विभिन्न पदको बार्गेनिङ पनि गरेको बताइन्छ । त्यसका निम्ति अध्यक्ष ओलीसँगै ज्ञारेन्टी खोजेको स्रोतको दाबी छ ।

गुप्ताको साथमा जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ का धर्मबहादुर लाल श्रीवास्तव पनि रहेको बताइएको छ । तौलिहवा नगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष सुदिप पौडेलले पनि यतिखेर एमाले प्रवेशसँगै मेयरको दाबी गरेका छन् । अर्का डा. राजेश गुप्ता र सन्तोष कसौधन पनि मेयरका दाबेदार हुन् । यी सबैलाई लिएर गुप्ताले आगामी सोमबार ओलीको उपस्थितिमा जिल्लामा एमाले प्रवेश गर्ने कार्यक्रम बनाएको बुझिएको छ ।

सोमबारसम्म यसअघि काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र बसेका १२ नम्बरका वडाध्यक्ष ओमप्रकाश पाण्डे तानु बाबालाई पनि एमालेमा प्रवेश गराउने योजना र कार्यक्रम रहेको कपिलवस्तु एमाले स्रोतले पुष्टि गरेको छ ।

टिप्पणीहरू