आफू एमालेमा बस्ने, अरूलाई कांग्रेसतिर पठाउने

आफू एमालेमा बस्ने, अरूलाई कांग्रेसतिर पठाउने

एमालेले पुस २३ गते रोशी गाउँपालिकाका तीन जना वडाध्यक्षलाई पार्टी प्रवेश गरायो । चैत ६ गते आइतबार रोशी गाउँपालिकाकै माओवादी केन्द्रका अध्यक्ष डिल्लीप्रसाद रेग्मीसहित नेकपा समाजवादीका जिल्ला सदस्य चोत्रबहादुर सारु, मेघबहादुर राना र पालिका सचिव गंगाराम राना एमालेमा प्रवेश गरे । रोशी गाउँपालिका–९ स्थित नेकपा समाजवादीको सिंगो कमिटी नै प्रवेश गराउँदै एमालेको विजय सुनिश्चित गराएको उद्घोष गरे ।

धुलिखेल नगरपालिका–८ का अध्यक्ष निराजन जंगम वडा कार्यालयमा विनियोजित ७ लाख रकम व्यक्तिगत खर्च गरेको अभियोगमा सदस्यहरूले प्रश्न उठाएसँगै एमाले परित्याग गरी कांग्रेसमा पसे । उनलाई एमाले जिल्ला अधिवेशनमा पेश्की लिएको साढे ५ लाख, नगर अधिवेशनमा खाताबाट सुटुक्क निकालेको डेढ लाख रकम हिनामिना भएको आरोप पनि छ । सेवाग्राहीलाई जग्गा किनबेचको सिफारिस लिन आउँदा भाँडेर आफैँ जग्गा प्लटिङका लागि बार्गेनिङ गरेको, बाटो भएको जग्गालाई नभएको सिफारिस दिएर सरकारी राजश्व छल्न सहयोग पु¥याएकोजस्ता गम्भीर आरोप लागेको छ ।

आरोपबारे स्थानीयले छानबिनको माग गर्दै अख्तियारमा उजुरी दिएको बताएका छन् भने एमालेले दल त्यागसम्बन्धी विधानअनुसार कारबाहीको पत्र धुलिखेल नगरपालिका र निर्वाचन आयोगमा दर्ता गरेको छ । उता, जंगम कांग्रेस प्रवेश गरेकै दिन चैत २ गते कांग्रेसकै नेताहरूको गाडीमा चढेर काठमाडाैँ पुगी पोखरा उडेका थिए । उनी कांग्रेस प्रवेश गरेकोमा श्रीमती, दाजु भाउजू र आफन्त खुशी छैनन् । उनलाई एमाले नेता रामकृष्ण हुमागाईको डिजाइनमा पठाइएको चर्चा छ ।

धुलिखेलमा एमाले अध्यक्ष अशोक ब्याञ्जुको पुनः नगर प्रमुख बन्ने बलियो सम्भावना छेक्न एमालेबाहेकका सबै दल र पार्टीभित्रकै असन्तुष्ट समूह सक्रिय छ भनिन्छ । एमालेले भूमि आयोगको अध्यक्ष बनाई जिल्लामा सिडिओ सरहको सुविधा र हैसियत दिए पनि असन्तुष्ट नेताले ०७४ को स्थानीय चुनावमा पनि पैसाको कारोवार गरेका थिए ।

अहिले पनि कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँलगायतको टोलीसँग रामकृष्णका भाइ माधवमणि हुमागाईंले ३० लाख मागेको सार्वजनिक भएको छ । रामकृष्णले भने अशोक ब्याञ्जु हराउन एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्ने, कांग्रेस परित्याग नगरे स्वतन्त्र उठ्ने र कांग्रेस, माओवादी र समाजवादीलाई सहयोग गर्ने निर्णय सुनाएका छन् भन्ने आरोप छ । उनले गरेको निर्णयको अडियो क्लिप सार्वजनिक भएको छ । गोप्य रूपमा कांग्रेससँग बार्गेनिङ गरेर एमालेमा बसी अन्र्तघात गर्ने योजनामा हुमागाई पुगेको अडियो एमाले कार्यकर्ताको हातहातमा छ । तैपनि, उनले एमाले नेता गोकुल बाँस्कोटा र अशोक ब्याञ्जुसँग बार्गेनिङ भने गरिरहेका छन् ।

उता, सार्वजनिक जग्गा प्लटिङमा स्थानीयले खुकुरी लिएर काट्न आएपछि हच्किएका कांग्रेस नगर सभापति विदुर बस्नेत टिकटका लागि दौडधुप गरिरहेका छन् । ९ रोपनी सार्वजनिक जग्गा धुलिखेल १० मा बस्नेतसहितका नेताहरूको टिमले प्लटिङ गरिरहेको छ । धुलिखेल नगरपालिकाले अख्तियारको पत्रअनुसार उक्त जग्गा मालपोतमा रोक्का राखेको छ ।

नेकपा माओवादी केन्द्रबाट पृथ्वी थापा, समाजवादीबाट दयासागर श्रेष्ठको नगर प्रमुखमा चर्चा छ । गठबन्धन कायम रहँदा को प्रमुख हुन्छ ? वा अन्य दलबाट को उठ्छ भन्ने टुंगो एमालेबाहेकका दलबाट लागेको छैन । जिल्लामा पार्टी अदलबदल गर्ने क्रम तीव्र छ । नेपाली कांग्रेसमै रहेर सक्रिय राजनीतिमा नलागेका बनेपाका व्यवसायी एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य गगन थापाको हातबाट सदस्यता लिँदै प्रवेश गरेका छन् । अहिले टोल–टोलमा पार्टी परिवर्तन गर्ने होडबाजी छ । ०७४ मा पनि एमाले, कांग्रेस र माओवादी एक्लै लडेका थिए । एक्लै लड्दा एमालेले ७, माओवादीले २ र कांग्रेसले ४ वटा स्थानीय तहमा जितेका छन् ।

डाँडापारिको अभियान सम्पन्न गरी एमाले कोशीपारि अभियानमा जुटेको छ भने पालिकाहरूमा टोल कमिटी गठन गरिरहेको छ । कांग्रेसले आइतबारदेखि एकमहिने अभियान शुरु गरेको छ ।

टिप्पणीहरू