बाहिरका मान्छे तान्ने तयारी व्यापक

बाहिरका मान्छे तान्ने तयारी व्यापक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग गत साता दुई ठूला दातृ निकाय र मुलुकका प्रतिनिधिले मन्त्रालय पुगेर भेटेका छन् । गत बुधवार दिउँसो लञ्च टाइमपछि अमेरिकी कार्यवाहक राजदूत म्यानुअल मिक्यालर र लगत्तै एशियाली विकास बैंकका दक्षिण एशियाली मामिला हेर्ने महानिर्देशक केनिची योकोयामाले शिष्टाचार भेट गरेका हुन् ।

सामान्यतयाः विकास निर्माण, सहयोग र अनुदानको विषयमा अर्थ मन्त्रालयमा भेटघाट र छलफल हुने गर्छ । यसपटक भने पर्यटन मन्त्रालय मातहतको परियोजना सम्बन्धमा छलफल गर्न राजदूत र महानिर्देशक मन्त्री आलेकोमा पुगेका हुन् । एडीबीका महानिर्देशकसँगै उपनिर्देशक पनि छलफलमा सहभागी थिए । दातृ संस्था एशियाली विकास बैंकले मुख्य गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ छिटो निर्माण प्रक्रिया अघि बढाउन मन्त्रालयलाई आग्रह गरेको बुझिएको छ ।

नेपाली पक्षले उक्त टर्मिनल भविष्यलाई हेरेर ठूलो बनाउन आग्रह गर्दै आएको छ । तर, विदेशीले भने सानो बनाउन पटक–पटक सुझाव दिएको स्रोतले बताएको छ । अहिले दुवै पक्षबीच दोस्रो टर्मिनल जतिसक्दो छिटो निर्माण गर्ने सहमति भएको बताइन्छ । उक्त टर्मिनल निर्माणमा १४ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक आकलन छ । एडीबीले सानो बनाउन सुझाव दिएकाले त्यसैमा लामो समयसम्म कुरो नमिलेको हो ।

नेपालले उक्त टर्मिनलको निम्ति ३० करोड रुपैयाँ खर्च गरिसकेको छ । उक्त खर्च हालसम्मको कन्सल्टेन्सी शुल्क मात्रै हो । अब फेरि ‘ब्याक’ भएर अर्को डिजाइन गर्दा ढिलो हुने सरकारी अधिकारीहरूको दाबी छ किनभने आगामी डेढ महिनाभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै छ ।

एडीबीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई पनि अघि बढाउन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री कार्यालय स्रोतले भनेको छ, ‘त्यहाँ ४ हजार मीटर लम्बाइको एउटा मात्र रनवेवाला विमानस्थल बनाउन पनि एक खर्ब २० अर्ब रुपैयाँ लाग्ने देखिन्छ । र,एडीबीले लगानी गर्छु भनेको छ ।’

उता, भारतीय पक्षले पनि निजगढ विमानस्थन बनाउँछु भनेर पटक पटक पहल गरिरहेको छ । अर्थ श्रोतले एडीबीसँग धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउन ४० अर्ब रुपैयाँको आग्रह गरिएको बतायो । त्यति धेरै रकम जग्गा अधिग्रहण र विमानस्थल निर्माणको लागि हो ।

भारतको राजधानी नयाँ दिल्लीबाट धनगढी ७५० किलोमिटरको दूरीमा छ भने धनगढीबाट काठमाडौं पनि ठ्याक्कै उत्तिकै दूरीमा छ । उक्त विमानस्थलको स्तरोन्नति गर्दा भारतबाट वाह्य पर्यटक र काठमाडौंलगायतका शहरबाट आन्तरिक पर्यटक भिœयाउन मार्ग प्रशस्त हुने अर्थमन्त्री जनार्दन शर्माको विश्वास रहेको बताइन्छ ।

उहाँले भन्नुभयो, ‘धनगढीबाट कोठियाघाट, बीपी नगर,दिपायल, सायल, बझाङ, चैनपुर हुँदै तिब्बतको ताक्लाकोट जाने सडक पनि खोल्न पहल भएको छ । उक्त सडकलाई फराकिलो र स्तरीय बनाउँदा जम्मा ३ सय ४० किलोमिटरको दूरीमा तिब्बतको सीमाना पुगिन्छ । उक्त सडकको लागि २५ अर्ब लाग्ने अनुमान छ ।’

यसअघि एडीबीका नेपाल कन्ट्री डाइरेक्टरले हेलिकप्टरबाट खप्तड घुम्दा उक्त भाग अवलोकन गरेका थिए । अस्तिको भेटमा उनीसमेत सहभागी भएकाले उक्त सडकको स्तरोन्नतिबारे पनि विचार विमर्श भएको हो । ‘मन्त्रालयले सोचेबमोजिम धनगढी विमानस्थल र उक्त सडक बन्यो भने सुदूरपश्चिमको कायापलट हुनेछ,’ मन्त्री आलेले जनआस्थासँगको कुराकानीमा बताउनुभयो ।

त्यसैगरी विराटनगर र नेपालगञ्जलाई क्षेत्रीय विमानस्थल बनाउने गृहकार्य पनि शुरु भएको छ । त्यसनिम्ति आवश्यक बजेटको स्रोत जुटाउन अर्थ मन्त्रालयमा प्रस्ताव गएको छ । सोही दिन भेटिएका अमेरिकी कार्यवाहक राजदूतले मन्त्री आलेलाई पर्यटक भिœयाउन सहयोग गर्ने वचन दिएका छन् । त्यसैगरी, नेपाललाई उच्च प्रविधि हस्तान्तरणमा सहयोग गर्ने प्रतिबद्धता पनि प्राप्त भएको छ । त्यस अवसरमा मन्त्री आलेले नेपालबारे अमेरिकामा थप प्रचार गरिदिन अनुरोध गर्नुभएको हो ।

उहाँले अमेरिकी निजी क्षेत्रको लगानी बढाउन र नेपालको प्राकृतिक छटाबारे प्रचार गरिदिन आग्रह गर्दै, ‘साहसिक यात्रा’का लागि नेपाल राम्रो गन्तव्य रहेकाले त्यसतर्फ थप योगदान गरिदिन अनुरोध गर्नुभएको थियो । कोभिड महामारीमा अक्सिजन र कोरोनाविरुध्दको भ्याक्सिन उपलब्ध गराएकाले नेपाल सरकारको तर्फबाट अमेरिकी सरकारलाई धन्यवाद पनि दिइएको छ । अमेरिकाले आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता दोहो¥याएको छ ।

टिप्पणीहरू