ओलीले दुई तिहाई हैन, दुई-तीन सीट जित्छन्: नेता खनाल
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी तीनै तहको निर्वाचनमा केपी ओली नेतृत्वको एमालेले अकल्पनीय परिणाम भोग्ने दाबी गर्नुभएको छ ।
काठमाडौँको बानेश्वरस्थित अर्पण ब्याङ्केटमा आयोजित पार्टी निकट समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले एमाले देशभर पराजित हुने ठोकुवा गर्नुभएको हो ।
एमाले अध्यक्ष ओलीले आसन्न स्थानीय तहको चुनावमा एमालेले ७० प्रतिशत सीट जित्ने दाबी गरिरहेका बेला खनालले भन्नुभयो, ‘केपीकाे पार्टीले अब २ तिहाई हाेइन २/३ सिटमात्र ल्याउछ।
एमाले अध्यक्ष ओली सत्ता गठबन्धनविरुद्ध दक्षिणपन्थी मोर्चा बनाउने प्रयासमा रहेको भन्दै खनालले एमालेले एक्लै चुनाव जित्नै नसक्ने बताउनुभयो । ओलीले बाहिर एक्लै चुनाव लड्ने भनेर भित्रभित्र राप्रपा, लोसपा र सिके राउत नेतृत्वको जनमत पार्टीसँग तालमेलको प्रयास गरिरहेको उहाँको भनाइ छ ।
एमालेका केही नेताहरुले दुई पार्टी सिष्टमको वकालत गरेको भन्दै नेता खनालले त्यसलाई नेपालको संविधान र जबजविरोधी सोचको संज्ञा दिनुभयो। ‘उनीहरू अमेरिकीकाे डेमोक्रेसीलाइ नमुना मान्दैछन् । अब नेपालमा दुइ पार्टी सिष्टम भन्दैछन् । तर, त्यो सम्भव छैन, त्यस्तो सोच जबज र संविधानविरूद्धको सोच हो । दक्षिणपन्थी भड्काउ हाे ।’
सम्बोधनको क्रममा खनालले केपी ओलीले आफ्नो गुटको हित नहुने देखेपछि अनेक षड्यन्त्र गरेर तत्कालीन नेकपा विभाजित गरेको आरोप पनि लगाउनु भयो ।
सच्चा देशभक्त,क्रान्तिकारीहरूले अबकाे निर्वाचनमा जित्नैपर्ने भन्दै उहाँले अन्यथा फेरी केपी ओलीहरू जन्मिरहने र कम्युनिष्ट आन्दोलन धवस्त हुने चिन्ता व्यक्त गर्नुभयो ।
टिप्पणीहरू