हेलिकप्टर चढेर प्रधानमन्त्री बालुवाटारबाट टोखा, पूर्वराजा पूर्वतिर
स्थानीय तहको चुनावको मिति नजिकिंदै गर्दा राजनीतिक दलका नेताहरुको देश दौडाहा बढेको छ । चुनावी चटारोमा रहेका नेताहरु आकाशमार्ग हुँदै विभिन्न कार्यक्रममा सहभागी भैरहेका छन् ।
हिजो बिहानैदेखि हेलिकप्टरबाट नेताहरुको बाक्लो आवतजावत देखिएको छ । बिहानैदेखि नेता र उच्च ओहोदाका अधिकारीहरु विभिन्न उडानबाट मुलुकका विभिन्न भागमा पुगेका छन् । केही उपत्यका बाहिरबाट राजधानी उत्रिंदा केही बाहिरेका छन् ।
हिजो सवेरै एमाले उपाध्यक्ष सुवास नेम्वाङ श्री एयरको उडानबाट गृहप्रदेश पूर्व पुगेर साँझ काठमाडौँ फर्किनुभएको छ । विहान ८ बजेको हाराहारीमा विराटनगर जानुभएका उहाँ बुद्ध एयरको जहंज चढेर साँझ १८:२१ बजे काठमाडौँ आइपुग्नुभएको हो।
हिजो बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट हेलिकप्टर चढेर नजिकैको टोखा जानुभएको थियो । प्रधानमन्त्रीलाई टोखा पुर्याउन बिहान पौने ९ बजे नेपाली सेनाको हेलिकप्टर बालुवाटारमा अवतरण गरेको थियो । सेनाको NA-058AIGUSTA हेलिकप्टर चढेर टोखा जानुभएका प्रधानमन्त्री देउवा बिहान ११:२० बजे सोही जहाजबाट बालुवाटार फर्किनुभयो ।
हिजै सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने जनकपुरबाट बुद्ध एअरको जहाज चढेर काठमाडौँ फर्किनुभएको थियो । उहाँ बुद्धको BHA 502 को जहाजबाट बिहान ९:५ बजे जनकपुरबाट उड्नु भएको थियो । बुद्धकै जहाजबाट पूर्वमन्त्री तथा एमाले सचिव पद्मा अर्याल काठमाडौँबाट पोखरा उड्नुभएको थियो भने काँग्रेस नेता देवेन्द्र राज कँडेल भैरहवाबाट काठमाडौँका लागि निस्कनुभएको थियो ।
उता, बिहान १० :२७ बजे माओवादी नेता देव गुरुङ्ग नेतृत्वको टोली हिमालयन एअरमार्फत चीनतर्फ लागेको थियो । हिमालयन एयर H97841 बाट गुरुङसहित पूर्वमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसारी घर्ति कुन्मिङका लागि उडेका हुन् । नेपाली नेता चीन उडेकै दिन चिनियाँ विदेशमन्त्री भने काठमाडौँ आइपुग्नुभएको छ। डिर जेट B8415 चार्टर विमानबाट विदेशमन्त्री वाङ यी काठमाडौँ आइपुग्नु भएको हो । १९ सदस्सीय टोलीको नेतृत्व गर्दै तीन दिने नेपाल भ्रमणका लागि उहाँ काठमाडौँ आइपुग्नुभएको हो ।
चुनावी चटारोमा रहेका नेताहरुको बाक्लो आवतजावत चलिरहँदा हिजै पूर्वराजा ज्ञानेन्द्र शाह पनि झापाको भद्रपुर जानुभएको छ। पूर्वराजा शाह बुद्ध एयरको BHA-953 जहाज चढेर पत्नी कोमलसहित बिहान १०:२५ बजे काठमाडौँबाट निस्कनुभएको हो ।
हिजै बुद्ध एअरको BHA-134 जहाजबाट कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाही सुर्खेतबाट काठमाडौँ आइपुग्नुभएको छ । त्यसैगरी, एमाले अध्यक्ष केपी ओली सिम्रिक एअरको हेलिकप्टरबाट उदयपुरतर्फ जानुभएको थियो । ओलीसहित ५ जनाको टोलि १२:५० बजे काठमाडौँबाट उडेको हो । सो टोलि सिम्रिककै उडानबाट सांझा १७:३२ बजे काठमाडौँ फर्किएको थियो।
यती एयर-NYT-679 को विमानबाट गण्डकीका मुख्यमन्त्री काठमाडौँ आउनुभएको थियो । मुख्यमन्त्री दिउँसो २:५० बजे पोखरा विमानस्थलबाट काठमाडौँका लागि निस्कनु भएको हो । त्यस्तै, बुद्ध एयरबाट पूर्वमन्त्री तथा माओवादी नेता गिरिराजमणि पोखरेल १४:४० बजे जनकपुर निस्कनुभएको थियो । हिजो नै यतिको विमानबाट एमाले नेता खगराज अधिकारी दिउँसो १५:४५ बजे पोखराबाट काठमाडौँका लागि निस्कनुभएको थियो ।
यता, गृहजिल्ला चितवनका विभिन्न कार्यक्रममा भाग लिएर पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो साँझ काठमाडौँ फर्किनुभएको छ । उहाँ बुद्धको जहाजबाट अपरान्ह ४:२२ बजे काठमाडौँ फर्किनुभएको हो । त्यस्तै, पूर्वराष्ट्रपति डा. रामवरण यादव सांझा ६:२२ बजे काठमाडौँ ओर्लिनुभएको थियो। उहाँ जनकपुरबाट काठमाडौँ आउनुभएको हो।
बुद्ध एयरको जहाज चढेर लोसपाका नेताहरु नेपालगंज तर्फ उडेका थिए । साँझ ५ बजे अध्यक्ष महन्थ ठाकुर, नेताहरु शरदसिहं भण्डारी, राजेन्द्र महतो, अनिलकुमार झा र सर्वोन्द्नाथ शुक्ला त्यता लागेका हुन् । बुद्धकै जहाजमा सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र काँग्रेस नेता मिनेन्द्र रिजाल पूर्वतर्फ उड्नुभएको थियो । उहाँहरु पौने ६ बजे काठमाडौँबाट विराटनगरका लागि उड्नुभएको हो ।
त्यस्तै, भारतमा रहनुभएका पुर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री हिजो नै काठमाडौँ फिर्ता हुनुभएको छ। उहाँ नेपाल एयर RA206 जहाजबाट साँझ ४:२० बजे काठमाडौं उत्रिनुभएको हो । त्यस्तै, कतार एयर QR652 दाेहा-काठमाडौं काेभ्याक्स सुविधाअन्तर्गत नेपाल सरकारलाई उपलब्ध फाईजर खाेप ६,७१,००० (६ लाख एकहत्तर हजार) डाेज लिएर ०९:३५ बजे जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
युएनको चार्टर RSB-7624 विमान भारतको नागपुरबाट ७ जना क्रु मेम्बर UN मिसनको सामान लिनका लागि १२ २५ बजे खाली जहाज काठमाडौँ आइपुगेको थियो । बुद्ध एयरको जहाजबाट स्विजरल्याण्डका राजदुत एलिजावेथ भोन क्यापेलर दिउँसो १ बजे काठमाडौँ फर्किएकी थिइन् । विराटनगर पुगेकी राजदूत दिउँसो १ बजे काठमाडौँ ओर्लिएकी हुन् ।
टिप्पणीहरू