हुम्लाबाट १३ किसिमका जडिबुटी निकासी

हुम्लाबाट १३ किसिमका जडिबुटी निकासी

हिमाली जिल्ला हुम्लाबाट गत पुस महिनायता मात्रै चार लाख ८० हजार केजीभन्दा बढी जडिबुटी निकासी भएको छ । जडिबुटी जिल्लावासीको मुख्य आयस्रोत हो ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रवीण पौडेलकाअनुसार यो वर्ष हुम्लाबाट १३ प्रकारका जडिबुटी निकासी भएका छन् । सबै प्रकारका जडिबुटी गरी चार लाख ८१ हजार तीस केजी जडिबुटी निकासी भएको छ ।

ती जडिबुटी दुई दर्जनबढी राष्ट्रिय तथा सामुदायिक वनबाट संकलन गरिएको हो । जिल्लाबाट निकासी भएका जडिबुटीमा तीन लाख ४० हजार केजी जटामासी रहेको छ । ४९ हजार पाँच सय केजी कुट्की, ४८ हजार छ सय केजी सेतक चिनी, २० हजार केजी सुगन्धवाल, १४ हजार छ सय केजी अतीस, एक हजार केजी चिराइतो निकासी भएको छ ।

यस्तै पाँच केजी सिलाजित, चार हजार केजी धुपी, पाँच सय १० केजी कालादाना, एक हजार दुई सय ५० केजी वनलसुन, पाँच सय २० केजी अल्लो, एक हजार ४५ केजी गुच्ची च्याउ रहेको पौडेलले जानकारी दिनुभयो ।

जडिबुटी कार्यालयको पञ्चवर्षीय योजनाअनुसार उक्त परिमाणमा निकासी भएको हो । अन्य ११ प्रकारका जडिबुटीको संकलन पुर्जी कार्यालयबाटै दिइएको छ । त्यहाँका जडिबुटी ४० भन्दा बढी जडिबुटी फर्मका व्यापारीले जिल्लाबाट नेपालगञ्जमा बिक्री गरेका हुन् ।

टिप्पणीहरू