चिनियाँ विदेशमन्त्रीद्वारा पोखरा क्षेत्रीय विमानस्थलको साँचो हस्तान्तरण
प्रधानमन्त्री शेरबहादुर देउवा र चीनको राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
सोअवरमा चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उक्त विमानस्थलको साँचो हस्तान्तरण गरिएको हो ।
साँचो हस्तान्तरण समारोह भर्चुअल विधिबाट भएको हो । त्यसको निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पोखरा पुग्नुभएको हो ।
विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा हस्तान्तरण गर्नुभएको हो । उता पोखरा क्षेत्रीय विमानस्थलमा उक्त विमानस्थलको निर्माण कम्पनीलाई मन्त्री आलेले कदरपत्र प्रदान गर्नुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ । उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान हुने बताइएको छ । सो विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान र अवतरण गर्न सक्छन् ।
टिप्पणीहरू