आज नाम प्रकाशित मतदाताले मात्र भोट हाल्न पाउने
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित गर्ने कार्यक्रम छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदान गर्न योग्य मतदाताको सूची आज सार्वजनिक गर्न लागेको हो ।
आज प्रकाशित हुने नामावलीमा झण्डै एक करोड ७८ लाख मतदाताको नाम समावेश गरिएको छ । प्रथम पटक प्रकाशित सूचीमा परेको दाबी विरोधपछि झण्डै एक लाख मतदाता सूचीबाट हटेका छन् ।
फागुन १९ गतेदेखि सात दिनको म्याद राखेर मतदाता नामावली अद्यावधिक (दाबी विरोध) गर्न र त्रुटि भए सच्याउन आयोगले सम्बन्धित सबैमा आह्वान गरेको थियो । गत पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता कायम थियो । त्यसपछि झण्डै १८ लाख जनाले नामावली दर्ता गराएका हुन् ।
योसँगै आयोगले माघ २४ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता कायम १६ वर्ष उमेर पुगेका नेपाली नागरिकमध्ये वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरिसकेको छ । उक्त व्यवस्थाले थप दुई लाख मतदाताको नामावली समावेश हुने आयोगले जनाएको छ ।
टिप्पणीहरू