काठमाडौंमा बतास र बिराटनगरमा बतासेलाई कारवाहीको माग
उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेका राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका तात्कालीन निमित्त निर्देशक डम्बर बतासेलाई कुनै कारवाही नगरी उन्मुक्ति दिइएको छ ।
२०७७ असोज दोस्रो साता सम्पन्न कक्षा १२ को परीक्षाको उत्तरपुस्तिका जाँच गराउँदा विराटनगरस्थित प्रदेश १ परीक्षा बोर्डका तत्कालीन निमित्त निर्देशक बतासेले चलाखीपूर्वक ठूला निजी विद्यालयहरुसँग साँठगाँठ गरेको रहस्य खुले पनि उक्त अनियमितता प्रकरणलाई गुपचुप राखेर उनलाई उन्मुक्ति दिइएको हो ।
उत्तरपुस्तिका जाँचमा अनियमितता भएको घटना बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले सो प्रकरणमा आरोपित बतासेलाई दशैंलगत्तै काठमाडौंमा हाजिर गराएर उतै काज सरुवा गरी जोगाएको थियो । बोर्डका तत्कालीन सदस्यसचिव दुर्गाप्रसाद अर्यालले घटना छानबिन गरेर बतासेलाई कारवाही गरिने बताएका थिए । तर हालसम्म कुनै कारवाही भएको छैन ।
बतासे हाल राष्ट्रिय परीक्षा बोर्डको भक्तपुरस्थित केन्द्रीय कार्यालयको योजना तथा अनुगमन मूल्याङ्कन महाशाखामा उपनिर्देशक पदमा कार्यरत छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले बतासेलाई विभागीय कारवाहीको प्रक्रिया अगाडि बढिरहेको बताए ।
अनियमितता सार्वजनिक भएपछि शिक्षा मन्त्रालयका सहसचिव दिपक शर्माको टोलीले घटना अध्ययन गरेको थियो । तर उक्त अध्ययन प्रतिवेदन शिक्षा मन्त्रालयले हालसम्म सार्वजनिक पनि गरेको छैन । बतासेलाईलाई कारवाहीबारे मन्त्रालयले केही उल्लेखसमेत गरेको छैन ।
यस्तो छ अनियमितताको विवरण
विराटनगरको बरगाछीस्थित गोग्राह उच्च माविमा प्रदेश १ को उत्तर पुस्तिका परीक्षण केन्द्र तोकिएको थियो । गत असोजदेखि शुरु भएको परीक्षणमा एउटै शिक्षकले अलग अलग विद्यालयको उत्तर पुस्तिका सुटुक्क पोका खोल्न लगाएर जाँच गरेको पाइएपछि परीक्षण अधिकृत सीमा राईले सो कुरोको पत्तो पाएकी हुन् । त्यसपछि शिक्षकहरुबीच चर्को विवाद भएको थियो । घटनाअनुसार असोज २१ गते विराटनगरस्थित मेरिल्याण्ड माविका शिक्षक गणेश दहालले परीक्षण अधिकृतको स्वीकृतैबेगर धमाधम अंग्रेजी विषयको उत्तरपुस्तिका जाँच गरेका थिए । उनले जाँच गरेको करिब एक सय उत्तरपुस्तिका सबैमा ९० देखि ७५ सम्म अंक दिइएको थियो ।
स्वीकृतिबिना उत्तरपुस्तिकाको पोको खोलेर जाँच गरेको पाइएपछि परीक्षण अधिकृत समिता राईले शिक्षक दहाललाई जाँच गरेका सबै कापी फिर्ता गर्न निर्देशन दिइन् । त्यसपछि उनीहरुबीच घम्साघम्सी शुरु भयो । गल्ति लुकाउन नसकेपछि शिक्षक दाहालले माफी माग्दै आफूलाई बोर्डका कर्मचारीले नै उत्तरपुस्तिकाको पोको खोलेर जाँच गर्न दिएको बताएका थिए ।
तर उनले कुनै हालतमा पनि कुन कर्मचारीले पोको खालेर पुस्तिका दिएका हुन् भन्ने कुरो बताउन चाहेनन् । यसबारे बोर्ड प्रमुख बतासे र सदस्य सचिव दुर्गा अर्याललाई पनि तत्काल जानकारी गराइएको थियो । त्यसपछि परीक्षण अधिकृत राईले जिल्ला प्रशासनलाई जानकारी गराएर सबै उत्तरपुस्तिका दराजमा ताल्चा लगाएर साँँचो आफैंले लिई दशैं बिदामा गएकी हुन् ।
उत्तरपुस्तिका परीक्षण गर्ने कार्यमा अनियमित भएको फेला परेपछि दशैंअघि जाँच कार्य स्थगित भएको थियो । तत्काल घटनाको छानबिन नभएपछि विद्यार्थीको भविष्यलाई ख्याल गर्दै विराटनगरस्थित परीक्षा बोर्ड कार्यालयले केन्द्रको निर्देशनअनुसार बाँकी उत्तर पुस्तिका परीक्षण गराएको थियो ।
यस्तो छ उत्तर पुस्तिका परीक्षण गर्ने नियम
उत्तरपुस्तिका परीक्षा बोर्डले जाँचकी शिक्षकहरुलाई कोड नम्बर दिएर जाँच गराउने गर्दछ । सँगसँगै पालना गर्नुपर्ने निर्देशनहरु पनि टाँसेर वा अनुशिक्षण गराएर केन्द्रमासमेत जानकारी गराउने गर्दछ । नियमअनुसार आफैंले पढाएको विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका शिक्षकले कुनै हालतमा जाँच गर्न पाउँदैन । धैरै वटा विद्यालयमा पढाउने शिक्षकले अलग अलग विद्यालयको नामसमेत परिवर्तन गर्न पाउँदैनन् ।
यसरी प्रष्ट हुन्छ बतासेको मिलेमतो
कक्षा १२ को उत्तरपुस्तिका परीक्षा बोर्ड आफैंले परीक्षण गर्ने योजनाअनुसार विराटनगरको बरगाछीस्थित गोग्राह माविमा परीक्षण केन्द्र तोकेर प्रदेश १ परीक्षा बोर्ड कार्यालयले १६ असोजदेखि उत्तरपुस्तिका परीक्षण गराउन थालेको थियो । तर कार्यालय प्रमुख डम्मर बतासेले पूर्वतयारी नगरी परीक्षण अधिकृतसमेतको अनुपस्थितिमा उत्तरपुस्तिका जाँच कार्य थालेका थिए ।
कतिसम्म भने उनले एक जना करारमा काम गर्ने कार्यालय सहयोगीलाई स्थायी जागिरको प्रलोभनमा बिहान ५ बजे नै कार्यालयमा बोलाएर उत्तरपुस्तिका आफूलाई दिन आग्रह गरेका थिए । उक्त कार्यको पोल खुलेपछि उनी असोज २१ गते चितवनमा हुने शैक्षिक कार्यक्रममा सहभागी हुन हिँडे । त्यसपछि सम्पर्कविहीन बने ।
अनियमितताको घटना बाहिर आएपछि निमित्त निर्देशक प्रमुख बतासेले सबै जिम्मा परीक्षण अधिकृतले नै लिनुपर्ने बताउँदै आफूलाई जोगाउने प्रयत्न गर्दै आए । तर उनले त्यसो भने पनि उक्त घटनापछि उनी न कार्यालयमा हाजिर भए न पत्रकार र कर्मचारीको सम्पर्कमा नै आएका छन् ।
पहिले पनि कारवाहीबाट जोगिएका थिए
डम्बर बतासे पोखरामा हुँदा पनि २०७४ सालको परीक्षामा अनियमितता गरेको आरोपमा विवादमा आएका थिए । उनको अनियमिताबारे छानविन समिति नै गठन भएको थियो । तर उनलाई त्यसबेला पनि कुनै कारवाही भएन । त्यसपछि उनको मनोबल बढेकाले निजी विद्यालयहरुसँग साँठगाठ गरेर अनियमितता गर्न नछाडेको उनी निकट कर्मचारीहरु बताउँछन् ।
कारवाही गर्न सामुदायिक विद्यालयको माग
ठूला निजी विद्यालयसँगको मितेमतोमा उत्तरपुस्तिका परीक्षण गराउने गरेको रहस्य खुलेपछि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विरोध गर्दै आएका छन् । उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारवाही नगरी आरोपितलाई जोगाउनु अनियमिततालाई ढाकछोप गर्ने काम भएको बताएका हुन् ।
विराटनगरस्थित सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेल खुल्मखुल्ला अनियमितता भएको घटना ढाकछोप गर्दा अनियमितता गर्नेहरुको मनोबल झन् बढ्ने बताउँछन् ।
-आशिका लम्साल
टिप्पणीहरू