भारतीय आधार कार्ड देखाउँदै क्यासिनोमा जुवा खेल्ने नेपाली समातिए

भारतीय आधार कार्ड देखाउँदै क्यासिनोमा जुवा खेल्ने नेपाली समातिए

भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेल्ने दुई जना नेपाली नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रहरी नायव उपरीक्षकसमेतको टोलीले गए मध्यरातमा ठमेलको होटल अलफ्टमा रहेको वाल्डो क्यासिनोबाट उनीहरु पक्राउ परेका हुन् ।

क्यासिनोका ३० टेबलमध्ये ११४ नम्बरको टेबलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरीको बकलौरी घर भएको चक्रबहादुर कार्कीको छोरा वर्ष ४६ को मदन कार्की र सर्लाहीको ढुंग्रेखोला घर भएका दावा सिंह दोर्जेको छोरा वर्ष ३३ को वबिरमान भोलन हुन् ।

उनीहरुको साथबाट क्यासिनोमा प्रयोग गरिने क्वाइन पहेँलो रंगको ५० हजार रुपैयाँको एक थान, १० हजार रुपैयाँ को कालो रंगको क्वाइन तीन थान, पाँच हजार रुपैयाँको नीलो क्वाइन दुई थान र एक हजार रुपैयाँको क्वाइन नौ थान गरी ९९ हजारको क्वाइन फेला परेको छ । साथै भारतीय नक्कली आधार कार्ड दुई थान र उक्त क्वाइन प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई राति नै पक्राउ गरी आज काठमाडौ जिल्ला सरकारी वकिल कार्यालय बबरमहल मार्फत् जिल्ला प्रशासन कार्यालय काठमाडौबाट जुवा ऐनमा पाँच दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

निजहरुको साथमा प्राप्त मानव शर्मा र वीर भुटीया नामको भारतीय आधार कार्ड नक्कली भएको प्रहरीले आशंका गरेको छ ।

टिप्पणीहरू