राप्रपाका बहुमत जिल्ला सदस्यसहित १० वटै पालिका अध्यक्ष कमल थापाको ‘तीर’ मा
तीर चुनाव चिन्ह लिएर अघि बढेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको बसाइ धेरैजसो अहिले गृहजिल्ला हेटौँडामा छ । अस्ति वीरगञ्ज र हिजो चितवनको कार्यक्रम सकेर पनि उनी बास बस्न हेटौँडा पुगेका हुन् । उनी हेटौँडामा रहेकै बेला राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरमा विद्रोह भएको छ ।
हिजो साँझ जिल्ला समितिका अध्यक्ष गुरुप्रसाद सापकोटासहित बहुमत जिल्ला सदस्यले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरी थापा नेतृत्वको राप्रपा नेपालमा समाहित हुने निर्णय गरेका छन् । साँझ अध्यक्ष सापकोटाले जनआस्थासँग कुरा गर्दै जिम्मेवारीमा रहेका ७८ जना जिल्लास्तरीय नेताले राप्रपा परित्याग गरी राप्रपा नेपालतिर लागेको बताए ।
त्यसरी राप्रपा त्याग्नेमा पूर्वकेन्द्रीय सदस्य बालकृष्ण कार्की,जिल्ला अध्यक्ष सापकोटा, उपाध्यक्ष खिलप्रसाद चौलागाई,महिला उपाध्यक्ष मन डिसी, सहसचिव रन्जना बर्ताैलासहित जिल्ला कार्यसमितिका २७ जना नेता छन् । त्यसैगरी मकवानपुरका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रीय समितिमा रहेका एक जनाबाहेक सबै क्षेत्रीय अध्यक्षले राप्रपा त्यागेका छन् ।
त्यसरी पार्टी त्याग्नेमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर घले, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) का अध्यक्ष भीमबहादुर स्याङ्तान, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ (क) का अध्यक्ष बद्री कुँवर, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ (ख) का अध्यक्ष दामोदर वाग्ले हुन् ।
मकवानपुरका दुई नगरपालिकासहित १० वटै पालिकाका अध्यक्षले राप्रपा त्याग गरेका छन् । हेटौँडा उपमहानगरपालिका समितिका अध्यक्ष प्रेमलाल श्रेष्ठ र थाहा नगरपालिकाका अध्यक्ष नवीन रायमाझीले राप्रपा परित्याग गरेका हुन् । त्यसैगरी बागमती गाउँपालिकाका सभापति दिलबहादुर बल, बकैया गाउँपालिकाका सभापति राजाराम अर्याल, मकवानपुरगढीका सभापति कृष्णबहादुर बिडारी, भीमफेदीका अध्यक्ष प्रमोदलाल श्रेष्ठ, इन्द्रसरोबरका अध्यक्ष चन्द्रमान लामा, कैलाश गाउँपालिकाका अध्यक्ष वीरबहादुर नेगी, मनहरी गाउँपालिकाका अध्यक्ष बैकुण्ठ सुवेदी र राक्सिराङ गाउँपालिकाका अध्यक्ष हस्तलाल प्रजाले राप्रपा त्यागेर राप्रपा नेपाल अँगालेको अध्यक्ष सापकोटाले बताए ।
युवक संगठनको मकवानपुर जिल्ला अध्यक्ष शुक्रराज प्रजा, विद्यार्थी संगठन एवम् स्ववियु सभापति लक्ष्मण पौडेल, महिला संगठन अध्यक्ष इन्दिरा पाठक, मुस्लिम संगठन अध्यक्ष तयस मिया अन्सारी, शिक्षक परिषद् अध्यक्ष प्रल्हाद बानिया र कल्पना कठायतले पनि राप्रपा छाडेका छन् । महिला संगठनका सतप्रतिशत सदस्यले पार्टी त्यागेको र राप्रपा नेपालमा समाहित भएको अध्यक्ष सापकोटाले जानकारी दिए ।
भोलि बिहीबार राप्रपा नेपालमा समाहित भएको घोषणासभा गर्न लागिएको र स्थानीय तहको निर्वाचनलाई मजबुत ढंगले परिचालन गर्ने तयारी गरिएको पनि उनले बताए ।



टिप्पणीहरू