३ थान पेस्तोल बोक्दै,मध्यराति प्रहरीलाई टोक्दै
आज राति राजधानीमा गोली लोड गरिएका तीन थान पेस्तोलसहित क्यामरा र अन्य औजार बोकेर हिँडेका तीन जनालाई प्रहरीले समातेको छ । स्वयम्भू क्षेत्रमा हतियारसहित हिँडेका उनीहरुलाई महानगरीय प्रहरी बिट शोभाभगवतीबाट खटिएको प्रहरी हवल्दार हरिबहादुर साउद,जवान प्रतिक बानियालगायतको टोलीले गस्तिको क्रममा उनीहरुलाई समातेको हो । समातिएकामध्ये रौतहट घर भई हाल डल्लु बस्ने २० वर्षका प्रविण पधारको साथबाट तीन थान पेस्तोलमा लाइभ राउण्डको गोलीसहित फेला परेको हो ।
अर्का रौतहट घर भएका र हाल ब्रम्हटोल बस्ने १८ वर्षका राजुकुमार बानियाको साथबाट ओलम्पस क्यामरा र फोटो स्मार्टको क्यामरा एक थान फेला परेको छ । त्यसैगरी भारतीय नागरिक १८ वर्षका मुकेश बानियाको साथबाट घर तथा सटर फोर्न बनाइएको फलामको रड पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ गर्ने क्रममा प्रहरी जवान प्रतिक बानियाको हातमा तीनै जना अभियुक्तले टोकेको प्रहरीले जनाएको छ । उनीहरुले टोकेपछि घाइते भएका बानियालाई स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल पुर्याइएको थियो । अहिले उनको उपचार भइरहेको र पक्राउ परेकालाई आवश्यक अनुसन्धान गरिएको महानगरीय प्रहरी बृत्त स्वयम्भूले जानकारी दिएको छ ।
टिप्पणीहरू