प्रदीपपछि अर्को ‘ठूलो माछा’ खोरमा
घुस काण्ड लागेका एमाले नेता एवं पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश भएको छ ।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा आज भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।
गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहँदा कास्कीको बाटुलेचौरस्थित १३५ रोपनी क्षेत्रफलमा फैलिएको लिची बगैँचा हत्याउने योजनाअनुरूप बिचौलियासँग ‘करोडौंको डिल’ गरेको अडियो सार्वजनिक भएको थियो । चर्को आलोचनापछि उनले मन्त्री पदबाटै राजीनामा दिएका थिए ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते गुप्तासहित तत्कालिन भूमिमन्त्री रञ्जिता श्रेष्ठ र अन्य सात जनाउपर मुद्दा चलाएको थियो । जसमा ७८ लाख रुपैयाँ बिगो र सोहीबमोजिम जरिवाना तथा कैद सजाय हुन मागदाबी गरिएको छ ।
पछिल्लो समय भ्रष्टाचारका ठूला मुद्दामा अदालतले एकपछि अर्को 'बोल्ड आदेश' दिइरहेको छ । नलिञ्चोक हेलिपोर्ट घोटाला प्रकरणमा गत महिना नागरिक उड्डयान प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी जेल चलान भएका थिए ।
टिप्पणीहरू