युक्रेनमाथि रुसी हमलाले विश्वलाई पार्ने असर

युक्रेनमाथि रुसी हमलाले विश्वलाई पार्ने असर

देश स्वतन्त्र, सार्वभौम र अखण्ड भएर पनि बाह्य आक्रमणको कठिन नियति युक्रेनले भोगिरहेको छ । लामो रस्साकस्सीपछि भूगोल, सामरिक एवं सबै हिसाबले ठूलो देश रुसले आफ्नो छिमेकी यु्रकेनमा हमला शुरु गरेको महिना दिन नाघिसकेको छ । बलजफ्ती सन् २०१४ मा कब्जा गरिएको दक्षिणी भूभाग क्रिमिया, पूर्वी र उत्तरी बेलारुसको भूमि भएर गरिएको उक्त हमला अहिलेसम्म आइपुग्दा भयावह रूपमा देखा परेको छ ।

लाखौं जनता घरबार, सम्पत्ति त्यागेर छिमेकी देशमा शरण लिन बाध्य छन् भने देश छाड्न नसक्नेहरू लडाइँको चेपुवामा बडो नाजुक स्थितिको सामना गरिरहेका छन् । जथाभावी गरिएको मिसाइल र हवाई हमलामा परी निर्दोष नागरिक मारिने क्रम बढ्दो छ । विश्वयुद्ध अन्त्य भएको ७८ वर्षपछि फेरि सोही प्रकारको युद्धको छनक आउँदै छ ।

दुई–दुईवटा कहालीलाग्दो विश्वयुद्ध र सोको विभिषिकासँगै भएको मानव नरसंहार भोगेको पुस्ता करिब अस्ताइसकेको र बाँचेको पुस्ताले त्यो त्रासदीको इतिहास मात्र पढिरहेको बेला प्रविधिको पहुँचसँगै प्रत्येकको हात हातमा पढ्न र देख्न सकिने सनसनीपूर्ण परिदृश्यले आममानिसको मनोविज्ञानमा गहिरो असर छाडेको छ ।

विगतका विश्वयुद्धको तुलनामा सामरिक रूपमा अत्याधुनिक साधन–स्रोतको विकासले गर्दा यसको गम्भीरता कैयौं गुणा घातक र संवेदनशील रहनेमा शंका रहँदैन । युक्रेनबाट सशक्त प्रतिकारको कारण सात जना जर्नेलसहित सयौं संख्यामा रसी सेना मारिएको र एक जना त स्वयं रुसी सैनिकबाटै सिध्याइएको खबर छ ।

एकले अर्काको फौज धेरै संख्यामा मारिएको दाबी गर्नु स्वाभाविक भए पनि हताहतीको संख्या दुवैतिर बढी छ । सहज सप्लाईको अभाव, कडा युक्रेनी मुकाविला र मुद्दाविहीन युद्धको कारण रुसी सेनाको मनोबल खस्कँदो छ । शक्तिशाली र सम्पन्न देशहरुले लगाएको आर्थिक प्रतिबन्धबाट रुसको अर्थतन्त्रमा चौतर्फी असर परिरहेको छ ।

के रुस युक्रेनलाई आफूमा मिलाउन चाहन्छ ? या रुस पूर्व सोभियत संघलाई नयाँ अर्थमा ब्युँझाउन चाहन्छ या त अनुकूलको सरकार गठन गरेर सुरक्षामा आश्वस्त हुन चाहन्छ ! राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइमा उनी युक्रेनलाई देश मान्न तयार छैनन् । यसको अर्थ रुस र युक्रेन एकै हुन् र युक्रेन रुसको हिस्सा हो भन्ने नै हो ।

युक्रेन–रुसको समस्या नयाँ भने हैन । सन् २०१४ मै क्रिमियाको भाग त्यहाँका आफूसमर्थित विद्रोहीलाई उस्काएर कथित जनमत संग्रहको नाममा अनुमोदन गरी रुसी साम्राज्यमा गाभिसकेको स्थिति एकातिर छ भने युक्रेनको पूर्र्वीभागमा रहेका डोनेत्स्क र लुहाँन्स्क प्रान्तलाई सोही रूपमा मान्यता दिई त्यहाँका नेतालाई क्रेमलिनमा स्वागत गरिसकिएको छ ।

१९९१ मा सोभियत संघको पञ्जाबाट स्वतन्त्र भइसकेको सार्वभौम मुलुक कुन अर्थमा रुसको भूभाग हुन सक्छ ?

शुरुदेखि नै स्वदेश र विदेशमा रहेका नागरिकलाई देश जोगाउनको लागि हतियार बोकेर रुसी सेनाको प्रतिकार गर्न राष्ट्रपति जेलेन्स्कीले आह्वान गरेका छन् । उता, जसरी तालिवानको पोल्टामा खुरुक्क छाडेर निर्दोष अफगानी नागरिकलाई बिचल्ली पार्दै अमेरिकालगायत पश्चिमा देश भागेका थिए त्यही अवस्था युक्रेनको हुने अड्कलवाजी गरिएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा यस आक्रमणले प्रवेश पाएको छ । जसमा भारत, चीन र युएईले अनुपस्थित भएर तटस्थता देखाएका छन् । सुरक्षा परिषद्को निर्णयसँगै संयुक्त राष्ट्रसंघको महासभामा एक सय ९३ सदस्य भएको महासभाको अत्यधिक बहुमतले रुसविरुद्ध प्रस्ताव पास गरेको छ ।

छिमेकी राष्ट्रहरू शरणार्थीको लागि खुकुलो प्रावधान बनाउँदै सहज व्यवस्थापनमा जुटेका छन् । लिथुआनिया, लाटभिया, इस्टोनियाजस्ता पूर्व सोभियत संघबाट स्वतन्त्र राष्ट्रहरू आफू पनि त्यही नियतिबाट गुज्रनुपर्ने भयमा बाँचिरहेको पाइन्छ तैपनि युक्रेनको समर्थनमा सक्दो सहयोग गर्न अघि सरेका छन् । जर्मनीले लामो समयपछि मौनता तोड्दै एकाएक युक्रेनलाई हतियार दिने प्रक्रिया अघि बढाएको छ ।

यसरी अफगानिस्तानमा जस्तै यदि युद्धविरामले छिटो कुनै सम्झौतामा प्रवेश गरेन भने पश्चिमाले सवै प्रकारको सामरिक सहयोग युक्रेनलाई पु¥याउनेमा सन्देह रहन्न । कुनै पनि देशभित्र बलजफ्ती थोपरिने लडाइँमा शक्ति राष्ट्रको मात्र जित हुन्छ भन्ने कुनै ग्यारेण्टी नहुने तथ्य भियतनाममा अमेरिका, अफगानिस्तानमा सोभियत सेना र पश्चिमी देशसहितको अमेरिकी सेनाले हारेबाट प्रष्ट हुन जान्छ ।

विश्वभरिका न्यायप्रेमी जनता उक्त आक्रमणको विरोधमा छन् । स्वयं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घरेलु रूपमा पनि तीव्र विरोधको सामना गरिरहेका छन् । युद्ध सोचेअनुरूप अघि बढ्न नसकेको रोष आफ्ना जनरलउपर थोपर्ने प्रयास भइरहेकै छ ।

यसको साथै पश्चिमा र समर्थित देशले लगाएको विभिन्न खाले प्रतिबन्धको कारण रुसी अर्थव्यवस्थामा असर पर्ने र यसले आन्तरिक संकटलाई झन् बढाएर लैजाने देखिन्छ । यसैबीच रुसले ‘न्युक्लियर हतियार’ तयारी अवस्थामा राखेको भन्ने बयान बाहिर आएको छ । त्यसो त न्युक्लियर हतियार भएको देश रुस मात्र छैन ।

यसरी नै छिमेकी ठूला देशले साना राष्ट्रउपर अनेकौं बखेडा झिकेर सताउने हो भने विश्व कहिल्यै शान्त हुन सक्दैन । भौगोलिक, सामरिक एवं आर्थिक रूपमा सानो देशले यस्ता थिचोमिचो भविश्यका दिनमा अझै देख्नुपर्ने हुन्छ । कुनै पनि देशमा एकै धर्म, एकै जाति, एकै सम्प्रदायको बसोबास भइरहन सक्दैन ।

त्यसैलाई आधार मानेर एकले अर्कोलाई उक्साउने र युद्ध थोपर्ने हो भने विश्वमा यस्ता युद्ध अझ चर्किएर जाने देखिन्छ । नेपालजस्तो साना देशले आफ्नो स्वतन्त्रता र सार्वभौमिकता एवं भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न मौजुदा अवस्थाभन्दा अझ धेरै परसम्म देख्नुपर्ने हुन्छ ।

राजनीतिले सबैलाई मिलाउन सकेन भने, कूटनीतिले सही गति समात्न पाएन भने भविष्यमा अनेकौं दुर्गति निम्तन सक्नेतर्फ सचेत हुनै पर्छ । युक्रेनको भूमिभित्र क्रिमिया, डोनेट्स र लुहाँस्कजस्तै नियति निम्तँदै सावैभौमिकता एवं अखण्डताउपर चुनौती सिर्जना भयो भने हामी के गर्छौं ?

अब साना राष्ट्रले सोच्नुपर्ने कुरा के छ भने यदि देशको माया गर्ने हो भने कुनै न कुनै अवस्थामा देश जोगाउने सवालमा सवै हतियार बोक्न तयार पनि हुनुपर्ने रहेछ । यदि, देशमाथि आक्रमण भएको खण्डमा सबै युद्धको मैदानमा उत्रन तम्तयार हुनुपर्ने रहेछ भन्ने सन्देश युक्रेनको लडाइँले सबैलाई दिएको प्रतित हुन्छ । चेतना भया !

– नारायणबाबु थापा
(पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक)

टिप्पणीहरू