क्यान्सर त पत्ता लाउनै कठिन

क्यान्सर त पत्ता लाउनै कठिन

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारको पहिलो चरणमै समस्या छ । क्यान्सर परीक्षण गरी पत्ता लगाउने प्याथोलोजी विभागमै ढिलासुस्ती र उपयुक्त मेसिनबाट सेवा नपाएर बिरामी मर्कामा छन् भने अरु विभाग तथा उपचारको अन्य चरणमा कति झन्झट र सास्ती होला ? अस्पतालको समस्या तथा कमीकमजोरीबारे पत्रकारलाई यथार्थ जानकारी दिने डाक्टर, कर्मचारीलाई कार्यकारी निर्देशक डा. देजकुमार गौतमले हप्काउने गरेका छन् ।

सानो अथवा ठूलो अप्रेसन गरी निकालिएको मासुको परीक्षण गरी क्यान्सर छ, छैन भनी पत्ता लगाउने विधि बायोप्सीको रिपोर्ट लिन बिरामीले २–३ महिनासम्म कुर्नुपर्ने बाध्यता छ । सामान्यतया बिरामीलाई दुई–तीन हप्तादेखि एक महिनाभित्र बायोप्सी रिपोर्ट दिइसक्नुपर्ने बताउँदै विशेषज्ञ भन्छन्, ‘ढिलो हुँदा शरीरका अन्य भागमा क्यान्सर फैलिन सक्छ । उपचारमा जटिलता पैदा हुन्छ ।’

बायोप्सी रिपोर्टकै आधारमा केमो दिने, अझै ठूलो अप्रेसन गर्ने वा सेकाइ गर्ने भनेर निक्र्याेल गरिन्छ । जनशक्ति अभावको कारण बायोप्सी रिपोर्ट दिन ढिलाइ भइरहेको स्वीकार्दै प्याथोलोजी विभाग प्रमुख डा. रञ्जन भट्टले पछिल्लो समय हड्डीको बाहेक अन्य बायोप्सी रिपोर्ट बढीमा दुई महिनासम्ममा दिने गरिएको बताए ।

यस्तै, रगतको क्यान्सर परीक्षण गर्ने अत्याधुनिक मेसिन फ्लोसाइटोमेट्रीले काम नगरेको लामै समय भइसक्यो । न त्यो बनाइएको छ, न अर्काे ल्याइएको छ । फ्लोसाइटोमेट्रीको विकल्पमा हड्डीको मासीबाट क्यान्सर परीक्षण भएपनि त्यसबाट सही रिपोर्ट नआउन सक्छ ।

रगतको क्यान्सरको सही पहिचान

गर्नलाई फ्लोसाइटोमेट्री परीक्षण अनिवार्य हुन्छ । अनिमात्र बिरामीले सही उपचार पाउन सक्छन् । रगतको क्यान्सर कन्फर्म गर्न फ्लोसाइटोमेट्री नै गर्नुपर्ने विभाग प्रमुख डा. भट्ट बताउँछन् ।

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अहिले फ्लोसाइटोमेट्री नहुँदा बिरामीको रगत तानेर स्याम्पल इण्डिया पठाउने गरिएको र यसोे गर्दा बिरामीलाई थप आर्थिक भार पर्ने गरेको स्रोतको दाबी छ । यतिमात्र होइन, क्यान्सर अस्पताल भरतपुरमा अप्रेसन, परीक्षण, सेकाइ सबैमा पहिलेभन्दा निकै चर्काे शुल्क बिरामीसँग असुल्ने काम भइरहेको जनाउँदै स्रोत भन्छ, ‘आजभन्दा ४÷५ वर्षअघि बाहिरी सेकाइको एक महिनाको शुल्क जम्मा रु. ६००० थियो, अहिले ३०÷४० हजारसम्म लिने गरिएको छ ।’

यस्तै भित्री सेकाइ पनि प्राइभेटमा जस्तै अचाक्ली महँगो बनाइएकोले गरिब बिरामीको ढाड सेकिएको बताइन्छ । धनी बिरामी त इण्डिया, थाइल्याण्ड, युरोप, अमेरिकातिर गइहाल्छन्, यहाँ उपचार गर्ने भनेकै गरीब, विपन्न हुन् । यहाँ आउने कतिपय बिरामी र बिरामीका आफन्तले दालमोठ–चिउराले छाक टार्दै उपचार गराइरहेको देखिन्छ ।

बिरामीलाई कसरी हुन्छ सहज र केही सस्तो दरमा छिटोछरितो, भरपर्दाे सेवा दिने भन्दा यस अस्पताल व्यवस्थापनका मान्छेहरू कसरी हुन्छ तलब–भत्ता धेरै बुझ्ने र अस्पतालमा बसेर राजनीति गर्नेतिर बढी केन्द्रित रहने गरेका छन् । सबैभन्दा बढी राजनीतिकरण अहिले डा. देजकै पालामा भइरहेको स्रोत बताउँछ । उनले एमाले पार्टीका कार्यकर्तालाई मात्रै प्राथमिकता दिएर काम गरिरहेको आरोप छ । आफ्नो पार्टी र आफूनिकट डाक्टर, कर्मचारीलाई राम्रो व्यवहार गर्ने उनले इतरकालाई छुद्र व्यवहार गर्ने गरेको गुनासो छ ।

यहाँ अप्रेसन गर्ने भनेर भर्ना गरिएका बिरामीलाईसमेत सर्जन र एनेस्थेटिस्टले अप्रेसन थियटरमा लगेर विभिन्न बहानामा अप्रेसन क्यान्सिल गर्ने गरेको स्रोतले बतायो । बताइएअनुसार दुई–तीन हप्तासम्म अप्रेसन क्यान्सिल भएपछि बाध्य भएर बिरामीहरू प्राइभेटमा जाने गरेका छन् ।

भरतपुरको चौबीसकोठीतिर रहेका प्राइभेट अस्पतालहरूमा यहाँका डाक्टर, प्राविधिकहरू काम गर्छन्, कतिपयमा उनीहरूको लगानी पनि छ । त्यसैले उनीहरूले यहाँ ढिलो हुन्छ भन्दै प्राइभेट अस्पतालको नाम दिएर बिरामीलाई उतै बोलाउने गरेको जानकार बताउँछन् । त्यसो त डाक्टरले औषधि किन्न समेत बाहिर रहेका मेडिकलको नामै तोकेर पठाउने गरेको पाइएको छ । प्राइभेट अस्पतालका अन्य एजेन्टहरू पनि यहाँ बिरामी तान्न खटिने गरेको अस्पताल प्रशासनका कर्मचारीहरू बताउँछन् ।

– अजय गोर्खाली

टिप्पणीहरू