सर्लाहीमा हत्या र अपराधका श्रृंखला
सर्लाहीमा तीन महिनाको अवधिबीच एकपछि अर्को देखिने गरी तीनवटा हत्या र १० वटा डकैतीका घटना भएका छन् । पुस १३ गते राति हरिपुर्वा नगरपालिका–५ सर्लाहीको एक सामान्य खाजा होटलमा भएको विवादले त्यसका सञ्चालक मनोज कुमार यादवको ज्यान गयो । आफ्नै काकीसँग पुस १३ गते साँझ मनोजको रक्सी भट्टीमा सामान्य विवाद भएको थियो ।
रक्सी किन्ने निहुँमा सुतिरहेका मनोजलाई राति पसल खोल्न लगाई उठाएर नजिकैको खेतमा लगेर हत्या गरेका थिए । नाटकीय ढंगले हत्या भएपछि मृतकको शवलाई कुर्ताको सलले घाँटीमा कसेर नजिकैको रुखमा झुण्ड्याए ।
ताकी हत्यालाई आत्महत्या प्रमाणित गर्न सकियोस् । हत्या आरोप लागेकी काकीले केही समय अगाडि बंैकबाट १५ लाख रुपैयाँ घरायसी कामको लागि ऋण लिएकी थिइन् ।
सो रकम मनोजको हत्यामा खर्च भएको आशंका स्थानीयले गरेका छन् । मृतककी श्रीमती लीलादेवी धानुकले किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा दिन खोजे पनि प्रहरीले मुद्दा दर्ता गर्न नमानेको पीडितहरूले जनाएका छन् ।
प्रहरीले राम्रोसँग अनुसन्धान नगरेपछि लगत्तै सोही गाउँपालिकामा अर्को घटना भएको छ । हरिपुर्वा नगरपालिका ४ मा स्थानीय शिवशरण राय यादवको छोरा राजदेव रायलाई पर्सा सेक्टर बाँधको रोडमा मारेर फालिएको थियो ।
पाँच दिनपछि मात्रै पीडितले उनको शवलाई पोष्टमार्टम गरी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगेका थिए । तर प्रहरीले जाहेरी नै लिन नमानेको पीडित परिवारको गुनासो छ ।
रायलाई हत्यापछि रातो रंगको गाडीमा राखेर जंगलमा लगी फालेको स्थानीय बताउँछन् । प्रहरी निरीक्षक जटाधर यादव र पाण्डे थरका अर्का निरीक्षकले यस्ता घटनालाई बढावा दिने गरेको पाइएको छ ।
यस विषयको जानकारी गृहमन्त्री बालकृष्ण खाँणसमक्ष पुगेको छ । मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालय नक्सालसम्म जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद प्रसाईं र उनको टिमलाई नहटाएसम्म अपराधीसँगको कनेक्सन नटुट्ने स्थानीय बासिन्दाको भनाइ छ ।
– राजकुमार राय
टिप्पणीहरू