गठबन्धनको बैठकमा प्रधानमन्त्री मौन,अरु नेता बोलेको बोल्यै
आज बिहान साढे ११ बजेदेखि मुश्किलले ४५ मीनेट बसेको सत्ता गठबन्धन दलहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुश्किलले ओठ खोल्नुभएको छ । उहाँले आजको बैठकमा औपचारिकताका शब्दबाहेक अरु केही बोल्नुभएन ।
काँग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ,नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल,जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ उपस्थित छलफलमा प्रधानमन्त्रीले अरुले बोल्दा पल्याकपुलक मुख हेर्नेबाहेक अरु केही नगर्नुभएको बताइन्छ ।
आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा सहमति भए पनि छिनालेर मोडालिटी नतोकिएको बैठकमा सहभागी एक जना नेताले जनआस्थालाई जानकारी दिएका छन् । गाउँपालिका,नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका,जिल्ला समन्वय समिति र प्रदेश सभाको चुनावमा तालमेल गर्ने भनिए पनि आगामी संघको निर्वाचनसम्म गठबन्धन कायम गर्नेबारे प्रधानमन्त्री र काँग्रेसी प्रतिनिधिले मुख नखोलेका हुन् ।
‘अरु सहभागी नेताले चुनावी गठबन्धनबारे छिनालेर कुरो गरौं भन्दा पनि प्रधानमन्त्रीले मुख खोल्नुभएन,’ ती नेताले भने, ‘चैत २२ गतेसम्म सबै दलले ७७ वटै जिल्ला र ७५३ वटा स्थानीय तहको स्थितिवारे रिपोर्टिङ गर्ने भनिएको छ । त्यसपछि मात्र तालमेलको कुरो अघि बढ्ने कुरा छ ।’
त्यसपछि भोलिदेखि हुन लागेको प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणको विषय उठाइएको थियो । प्रधानमन्त्रीले भारत जान लागेको र फर्कंदा काशी पनि पुग्छु भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटघाट हुने जानकारी गराएर विषयलाई छोट्याउनुभएको थियो ।
तर गठबन्धन दलका नेताहरुले भोलिदेखि हुने भारत भ्रमणबारे कुनै ठोस एजेण्डा नल्याइएकोमा चित्त दुखाएका थिए । ‘ठीकै छ,अझै पनि एजेण्डा ल्याउनुस्जछलफल गरौं, हामी सुझाव दिन्छौं भन्दा पनि उहाँ चुप लागेर बस्नुभयो,’ स्रोतले भन्यो ।
प्रधानमन्त्रीको तर्फबाट भ्रमणबारे कुनै एजेण्डा वा विषय नखुलेपछि गठबन्धनका अन्य नेताहरुले नै सुझाव भन्दै आफ्ना धारणा राखेका हुन् । उनीहरुले प्रधानमन्त्रीलाई भारतीय समकक्षीसँग दुई मुलुकका प्रवुद्ध व्यक्तित्वहरुको समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन ग्रहण गर्न र कार्यान्वयनमा लैजान आग्रह गर्नुपर्ने सुझाव दिएका हुन् ।
त्यसैगरी लिपुलेक,कालापानीको समस्या र त्यसको समाधानसँगै नेपालले जारी गरेको चुच्चे नक्साको बारेमा पनि भारतसमक्ष नेपालको स्पष्ट धारणा राख्न कुनै कञ्जुस्याईं नगर्न अन्य नेताहरुले उहाँलाई सुझाव दिएका छन् ।
दार्चुलाको सदरमुकाम खलंगा पारिको महाकाली नदी किनारमा भारतले बनाएको पर्खालबाट नदीको धार परिवर्तन गराइएको,तराईका अधिकांश जिल्लामा जोडिएका सीमा क्षेत्रमा वर्षा लागेपछि हुने डुबानको बारेमा पनि अहिले नै कुरा राख्न भनिएको हो ।
तर अन्य नेताहरुले पालैपालो ती विषय उठाउँदा उहाँले खासै प्रतिक्रिया नजाउनुलाई सबैले अचम्म मानेका छन् । प्रधानमन्त्री भोलि दिउँसो नयाँ दिल्ली जाने र आइतबार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।
टिप्पणीहरू