शीतल निवासमा प्रधानमन्त्रीको बिदाई भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गर्नुभएको छ । उहाँले साँझ ५ बजेदेखि झण्डै ४५ मीनेटसम्म कुराकानी गर्नुभएको शीतल निवास स्रोतले बताएको छ ।
आजको भेट प्रधानमन्त्रीको भोलिदेखि हुन लागेको भारतको तीन दिने भ्रमणमा केन्द्रित थियो । सरकार प्रमुखले विदेश भ्रमणमा जानुअघि र फर्केपछि राष्ट्र प्रमुखसँग भेटवार्ता गर्ने प्रचलन छ । यसैवीच भारत जानुअघि ऊर्जामन्त्री र सभामुखबीच छलफल भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटासँग भेट गर्न ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल आज साँझ सभामुख निवास लैनचौर पुग्नुभएको छ ।
मन्त्री भुसाललाई भोलिदेखि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको दलमा समावेश गराइएको छ । आज बिहानको क्याबिनेट बैठकले भुसाललगायत चारजना मन्त्रीलाई प्रधानमन्त्रीको भ्रमण दलमा सामेल गर्ने निर्णय गरेको हो ।
टिप्पणीहरू