गुराँस फुलेर ढकमक्क डाँडामा चौँरीको ताँती
पाँचथरको फालेलुङ गाउँपालिकामा पाँचौँ फालेलुङ चौँरी पर्यटन महोत्सव हुने भएको छ । महोत्सव चैत ३० देखि बैशाख ५ गतेसम्म आयोजना गर्न लागिएको हो । फालेलुङ गाउँपालिका र विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा हुने महोत्सवमा चौंरी तथा याकका प्रजातिहरुसहित चौंरी र चौंरीजन्य उत्पादनको प्रदर्शनीसँगै स्थानीय उत्पादन प्रवर्धन गर्न लागिएको हो ।
त्यसैगरी गोठ पर्यटनको प्रवर्धन, उच्च पहाडी क्षेत्रको अवलोकन र साँस्कृतिक कार्यक्रम पनि राखिएको छ । यसपटक फुटबल प्रतियोगिता समेत हुने भएको छ । भौगोलिक हिसाबले उच्च स्थानमा हुन लागेको प्रतियोगितामा नेपाल र भारतका टिमको सहभागिता रहने बताइएको छ ।
गोठ स्टेलाई समेत प्रवर्धन गर्ने उद्देश्य राखिएको जानकारी दिइएको छ । यसअघिका तीन वटा महोत्सव स्थानीय चार रातेमा आयोजना गरिएको थियो । गत वर्षको महोत्सव भने तीन सीमानामा गरियो । चार राते चर्चित पर्यटकीय गन्तव्य सन्दकपुरदेखि नजिकै पर्छ । महोत्सवस्थलमा जान यातायातको समेत सुविधा छ । यो मौसममा उक्त क्षेत्रमा गुराँस फुलेर रङ्गीचङ्गी देखिन्छ ।
महोत्सव फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवर्धन संस्था,दिपज्योती युवा क्लब,कञ्चनजंघा चौंरीपालन तथा संरक्षण संस्थाले संयुक्तरुपमा आयोजना गर्न लागेका हुन् । महोत्सवमा गाँउपालिकाले सहयोग गरेको मूल आयोजक समितिका सचिव सुनिल वान्तवाले जानकारी दिए । महोत्सवलाई कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहलले प्रवर्धन गर्दैछ ।
महोत्सवको थप आकर्षणमा फालेलुङ क्षेत्रमा पाइने जडिबुटी, स्थानीय संस्कार र संस्कृति झल्कने परिकार,भेंडाको ऊनबाट निर्मित सामाग्रीहरुको बिक्री,गोठस्टेको अनुभव, उत्कृष्ट चौंरीपालक कृषक सम्मान, पुरुष फुटबल प्रतियोगिता, नृत्य प्रतियोगितालगायत राखिएको छ ।
टिप्पणीहरू